गाेविन्द केसीको अनशन स्थगित: फेरी अनसन बस्ने चेतावनी

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानका प्रा डा. गोविन्द केसीले आफ्नो १२औं अनशन स्थगन भएको घोषणा गरेका छन् ।सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ स्थगन गरेको र बडादशैँ पनि शुरु भएकाले देशभरिका सहयोगी समर्थक र शुभचिन्तकको आशयलाई ध्यानमा राखी हाललाई अनशन स्थगन भएको विज्ञप्तिमा जनाएका छन् ।

डा. केसीले असोज ९ गतेदेखि पाँचसूत्रीय माग राखी अनशन शुरु गरेका थिए । केसीद्वारा जारी विज्ञप्तिमा पाँचसूत्रीय माग यही असोज १९ गतेसम्म पूरा नभएमा अनशन पुनः शुरु गरिने चेतावनी दिइएको छ ।

व्यवस्थापिका–संसद्को असोज ९ गतेको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७४ पेश भएको थियो । प्रा. डा. केसीका प्रमुख मागमा चिकित्सा शिक्षाका शुल्क निर्धारण, त्रिविविका पदाधिकारी बर्खास्तलगायत छन् ।