उम्मेदवार बन्न यस्तो कडा छ एमालेको ‘मापदण्ड’

एमालेको मंगलबार बसेको स्थायी समिति बैठकले मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया र त्यससम्बन्धी मापदण्डलाई टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रिया र मापदण्डसम्बन्धी व्यवस्थालाई अन्तिम रूप प्रदान गरेको हो । 

बैठकले असोज १६ र १७ मा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेशसभा क्षेत्रीय समन्वय कमिटीको बहुमतबाट त्यो सम्भव नभएको खण्डमा न्यूनतम एक महिलासहित तीन जनाको नाम प्रत्यक्ष निर्वाचनका लागि जिल्ला कमिटीमा पेस गर्ने जिम्मेवारी सुम्पिएको छ । त्यस्तै, असोज १९ र २० मा जिल्ला कमिटीका बैठक बस्ने ती नामलाई आफ्नो राय सुझावसहित जिल्ला कमिटीमा पठाउनुपर्ने व्यवस्था गरेको छ ।

असोज २२ र २३ मा प्रदेश कमिटीको बैठकले जिल्ला कमिटीबाट प्राप्त राय, सुझाव र सिफारिससहित स्थायी समिति बैठकमा प्रस्तुत गर्नुपर्नेछ । प्रत्येक जिल्ला कमिटीबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि एक महिलासहित तीन जनाको नाम समानुपातिक उम्मेदवारका लागि पनि स्थायी समितिमा पठाउनुपर्ने छ । एमालेका प्रादेशिक निर्वाचन क्षेत्र समन्वय कमिटी र प्रतिनिधिसभाका क्षेत्रीय निर्वाचन कमिटीहरूले बढीमा तीन जनाको नाम प्रदेश कमिटीमा सिफारिस गर्नुपर्नेछ । सकेसम्म क्षेत्रीय कमिटीबाटै सर्वसम्मत रूपमा एक जनाको नाम सिफारिस गर्नुपर्ने बैठकको निर्णय छ ।

यस्तो छ मापदण्ड

एमालेले पार्टीमा सक्रिय, सार्वजनिक प्रतिष्ठामा आँच नआएको, असल आचरण भएको, पार्टीमा सक्रिय र समाजमा लोकप्रिय छविका साथै निर्वाचनमा विजय सुनिश्चित गर्न सक्नेलाई मात्रै टिकट दिने भएको छ । स्थानीय निर्वाचनमा बागी विद्रोही भएको, पार्टीलाई असहयोग गरेको तथा विवादास्पद भूमिका भएकालाई उम्मेदवार नबनाउने स्पष्ट गरेको छ । त्यस्तै, स्थानीय तहको निर्वाचनमा निर्वाचित प्रतिनिधि उम्मेदवार बन्न नपाउने भएका छन् । यसअघि संविधानसभामा समानुपातिक सदस्यमा रहेकालाई पुनः समानुपातिक उम्मेदवार नबनाउने भएको छ । तर, महिलाको हकमा भने अलि लचिलो व्यवस्था गरिएको छ ।

यसअघि वरिष्ठ नेताहरू एकभन्दा बढी स्थानबाट उम्मेदवारी दिने गरेको भए पनि यसपटक भने त्यस्तो गर्न नपाउने भएका छन् । निर्वाचन ऐनमा रहेको उक्त प्रावधानलाई पार्टीले कार्यान्वयनमा ल्याउन खोजेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा झलनाथ खनाल र सुवास नेम्वाङ इलामबाट, वामदेव गौतम बर्दियाबाट अध्यक्ष केपी ओली झापाबाट वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं-२ बाट, महासचिव ईश्वर पोखरेल काठमाडौं-५ र नेता शंकर पोखरेल दाङबाट निर्वाचन लड्ने निश्चित भएको पार्टी स्रोतले जानकारी दिएको छ । टिकट दिँदा समावेशीता र भौगोलिक सन्तुलन कायम गरिने पार्टीले जनाएको छ । ज्ञवालीका अनुसार समानुपातिक र प्रत्यक्षतर्फ एकै समय २६ असोजमै उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।