असुरक्षित पर्वतारोहण: आधार शिविर नै जाँदैनन् सम्पर्क अधिकृत

भारतीय दम्पतीले दुई वर्षअघि झुटो विवरण बुझाई सगरमाथा आरोहणको प्रमाणपत्र बुझ्यो । उजुरीपछि छानबिन हुँदा त्यो गलत पुष्टि भयो । सरकारले भारतीय दम्पतीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगायो तर आरोहणको गलत रिपोर्ट दिने अरुण ट्रेक र सम्पर्क अधिकृतलाई कुनै कारबाही भएन । जबकि सम्पर्क अधिकृतको प्रतिवेदनविना आरोहणको प्रमाणपत्र दिइँदैन । 

-सगरमाथा आरोहणक्रममा बिरामी भएकाको रेस्क्यु र मृत्यु भएकाको मुचुल्का गर्दा सरकारी प्रतिनिधिको हस्ताक्षर नभएको भन्दै बिमा कम्पनीले क्षतिपूर्ति दिएन । -सगरमाथा आधारशिविर र मकालु आधारशिविरमा विदेशी आरोहीमाथि आक्रमण भयो । तर, सरकारी प्रतिनिधि नहुँदा विदेशी आरोही आतंकित बनेर फर्किए।

-मनास्लु हिमाल आरोहणक्रममा सोमबार ४६ वर्षीय बेलायती आरोही फिल्लिप जोसेफ हार्भेको मृत्यु भयो तर सम्पर्क अधिकृतमा खटिएकी करिश्मा भण्डारीलाई त्यसबारे पत्तो थिएन । -हुतहुत आँधीले पर्यटक मारिए, त्यस्तोमा समेत सम्पर्क अधिकृत उपलब्ध नहुँदा विश्वभर नेपालको पर्वतारोहण असुरक्षित भन्ने सन्देश गयो ।

यी केही उदाहरण मात्र हुन् । सम्पर्क अधिकृत (सरकारी कर्मचारी) को अनुपस्थितिले आरोही र पर्यटकमाथि आक्रमणदेखि हत्यासम्मको घटना हुने गरेका छन् । पर्वतारोहणमा नेपाल विश्वमै नाम कहलिए पनि राज्यले खटाउने सम्पर्क अधिकृतका कारण बदनाम हँदै गएको छ ।

विश्वका आरोही लाखैाँ खर्चेर आउने गरे पनि नेपालमा राज्य पक्षले सहयोग गर्दैन भन्दै फर्कने गर्छन्। प्रत्येक वर्ष आरोहण दलसहित आरोहण गर्न नेपाल आउने विश्वचर्चित पर्वतारोही रोसल ब्राइस सम्पर्क अधिकृत आरोहीको पक्षमा नभएको बताउँछन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।