निर्वाचन भएका आठ जिल्लामा मतगणना सुरु

प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना शुरु गरिने सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् ।

केही स्थानीय तहमा प्रारम्भिक मत परिणाम आउनसमेत थालेका छन् सिराहाको लाहान, कल्याणपुर, मिर्चैया, धनगढीमाई, कर्जन्हा, गोलबजार नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि मतगणना जारी छ ।

रौतहटमा ११ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको रौतहटमा यमुनामाई गाउपालिकासहित ११ वटा नगरपालिकामा राती १ बजेबाट मतगणना शुरु भएको हो । सर्वदलीय सहमतिपछि रौतहटको चन्द्रपुर, गौर, गरुडा, परोहा, फतुवाबिजयपुर, गुजरा, माधवनारायण, बृन्दाबन, बौध्दिमाई, ईशनाथ नगरपालिकामा मतगणना शुरु गरिएको हो ।

अन्य ७ वटा स्थानीय तहमा भने सर्वदलीय सहमतिपछि आजबाट मात्र मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै धनुषाको मिथिला, धनुषाधाम, क्षिरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ भने धनुषाकै जनकनन्दनी, मुखियापट्टी, हंसपुर, औरहीमा पनि गणना जारी छ ।

महोत्तरीका जलेश्वर, गौशाला र बर्दिबास नगरपालिकालगायत आठ स्थानीय तहको मतगणना जारी छ । बाराको देवताल, फेटा र बारागढी गाउँपालिकामा मतगणना सुरु भएको छ । तर, कलैया र जितपुर–सिमरा उपमहानगरपालिकामा भने बिहानदेखि मात्र मतगणना शुरु गरिने बताइएको छ ।

सर्लाहीका लालबन्दी नगरपालिकासहित ५ स्थानीय तहको मतगणना जारी छ । मलंगवामा भने मतगणना गर्ने तयारी भइरहेको छ । त्यस्तै सप्तरीको खडक नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठी, कृष्णसवरन र विष्णुपुरमा पनि मतगणना जारी छ । पर्साको पर्सागढी नगरपालिका सहित ६ वटा स्थानीय तहमा गणना सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा भने मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।