२ नम्बर प्रदेशको निर्वाचन : मौन अवधि गुपचुपमै चलखेल

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहमा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान समय तोकिएको छ । 

मतदानका लागि ३ हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । १ महानगर, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका रहेको यो प्रदेशमा २६ लाख ६४ हजार ९ सय ५० मतदाता छन् । निर्वाचन कार्यक्रमअनुसार शुक्रबार मध्यरातदेखि नै प्रदेश २ मा मौन अवधि चलिरहेको छ ।निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने रोक लगाएको छ । तर निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रुपमा मत आफ्नो पक्षमा पार्ने कसरत भने चलिरहेको छ ।

यही अवधिमा अधिकांश चुनावी आँकलन उलटफेर हुने गरेको विगतको अनुभव छ । मधेसको चुनावमा मौन अवधिलाई स्थानीय जानकारहरु ‘कत्ल कि रात’ का रुपमा बुझ्ने गरेका छन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न वस्तीका मतलाई खरिद गर्न सौदावाजी यही अवधिमा हुने गर्छ ।, यो खबर आजको कान्तिपुरमा छ ।

निर्वाचन आयोगले मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्ऽ पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहसाथ भइरहेको, मतदातालाई सही रुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रहरूमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।