गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित
प्रकासित मिति : २०७४ भाद्र २३, शुक्रबार १०:३०
प्रकासित समय : १०:३०
गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले गणपुरक संख्या नभएको भन्दै नियमापत्ति जनाए ।
सभामुख ओनसरी घर्ती मगरले प्रक्रियामा गइसकेको भन्दै बैठक अघि बढाउन खोजेकी थिइन् । तर, सुवाल उभिरहेपछि सभामुखले उपस्थित सांसदको संख्या यकिन गर्न निर्देशन दिइन् ।
तीन मिनेटको घन्टी बजाएर गणना गर्दा पनि १३६ सांसद मात्र उपस्थित थिए । कुनै पनि प्रस्ताव निर्णयार्थ पेश गर्दा गणपुरक १४१ चाहिने तर, त्यो संख्या नपुगेको भन्दै सभामुख घर्तीले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेकी छन् ।