काठमाडौंका मेयर शाक्यले भने: वाचा पूरा गर्न सकिनँ, माफ पाऊँ !
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा गर्ने भन्दै सार्वजनिक गरेका १ सय १ प्रतिबद्धता पूरा गर्न नसकेपछि आफ्नो बचाउ गरेका छन्। राष्ट्रिय सभा गृहमा निकै तामझामका साथ पत्रकार सम्मेलन गरी मेयर शाक्यले कानुनी जटिलताका कारण आफ्नो प्रतिबद्धता पूरा गर्न नसकेको बताए । उनले महानगरका योजना धेरै र काम कम भएको स्वीकार गरे। ‘कानुनी जटिलताका कारण १ सय १ कार्ययोजना पूरा गर्न सकिएन’, मेयर शाक्यले भने, ‘स्थानीय तह शासन ऐन आउने बित्तिकै यी काम पूरा गरिनेछ ।
उनले काम पूरा गर्न नसकेकोमा माफी माग्दै जनतासँग सहकार्य गरी महानगरपालिकाले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ’हामीले प्रतिबद्धता पूरा गर्न सकेनौं । अब महानगरपालिकाले जनताको बीचमा गएर सहयोग-समन्वयमा ती काम पूरा गर्छौँ,’ मेयर शाक्यले भने। स्थानीय शासन ऐन नआएका कारण महानगरपालिकाले काम गर्न नसकेको शाक्यको गुनासो छ । ऐन नआउँदा कतिपय काम केन्द्रसँग बाझिएकाले महानगरले आफ्नो कामलाई गति दिन नसकेको मेयर शाक्यले बताए ।
महानगरपालिकाले अहिलेसम्म के गर्यो?
मेयर शाक्यका १ सय १ प्रतिबद्धतामध्ये काठमाडौं महानगरपालिकाले ८६ वटा योजनालाई नीति तथा कार्यक्रममा समेटेको छ। तिनको कार्यान्वयनका लागि मातहतका वडालाई साना, मझौला र ठूलामा वर्गीकरण गरी बजेट विनियोजन समेत गरेको छ । अब वडाले बजेटको कार्यान्वयन गरी प्रतिबद्धता अनुसारका कामलाई पूर्णता दिने मेयर शाक्यको भनाइ छ।
सफा सहर योजना अन्तर्गत १ हजार ९५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको महानगरपालिकाले जनाएको छ । यस्तै, हरित सहर योजना अन्तर्गत महानगरका विभिन्न ठाउँमा १ हजार ३८ विरुवा रोपेको र उज्यालो सहर अन्तर्गत १ हजार ७ सय ७ सोलार बत्ती जडान गरिएको मेयर शाक्यले जानकारी दिए।
महानगरले थप्यो योजना
पुराना प्रतिबद्धता पूरा गर्न नसकेको काठमाडौं महानगरपालिकाले थप योजना अघि सारेको छ। महानगरपालिकाले ५ करोड रुपैयाँको लगानीमा २० वटा ठूला बस सञ्चालन गर्ने योजना अघि सारेको हो। यस्तै फ्री वाइफाइ क्षेत्र बढाउने र महानगरलाई भ्रष्टाचारमुक्त बनाउन ठाउँ-ठाउँमा डेस्क स्थापना गर्ने योजना ल्याएको हो ।
यस्तै, फोहोरबाट बिजुली उत्पादन गर्ने योजना समेत महानगरपालिकाले सार्वजनिक गरेको छ । स्मार्ट कार पार्किङको योजना पनि अघि सारिएको छ।