एकल साँझको तयारीमा अञ्जु

गायिका अञ्जु पन्तको पहिलो एकल साँझ अन्तिम तयारीमा पुगेको छ । अञ्जु पन्त फाउन्डेसनको आयोजनामा नेपाल रेकर्डिस्ट एसोसियनका लागि उक्त कार्यक्रम आगामी शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुँदै छ ।

एकल साँझमा अञ्जुले आफ्ना लोकप्रिय गीतहरू सुनाउनेछिन् । कार्यक्रमकै लागि उनले २७ जना वाद्यवादकको टोलीसहित मंगलबार राष्ट्रिय नाचघरमा अभ्यास थालेकी छिन् ।

पहिलो एकल साँझलाई लिएर अञ्जु निकै उत्साही छिन् । ‘मंगलबार अभ्यास गर्‍यौँ, साँच्चिकै रमाइलो भयो । अब शनिबारको प्रतीक्षा छ,’ अञ्जुले भनिन् ।

करिब दुई घण्टा चल्ने अञ्जुको कार्यक्रममा दर्शक–श्रोताले फिल्मी गीतसँगै सुगम गीत पनि सुन्न पाउनेछन् । उनले पछिल्लो समय चलेका ‘म यस्तो गीत गाउँछु’, ‘भन्छु आज’, ‘सुर्के थैली’सँगै सुगम संगीतमा सर्वाधिक लोकप्रिय रहेका ‘नबिर्सें तिमीलाई नपाएँ तिमीलाई’, ‘जिन्दगी यो फूलै फूलको थुंगो हुँदैन’ आदि गीत गाउने तयारी गरिरहेकी छिन् ।

एकल साँझबाट उठेको पैसा परोपकारी काममा खर्चिने घोषणा गरिएको छ । उनले एकल साँझबाट हुने फाइदाको रकम पर्दापछाडि काम गर्ने रेकर्डिस्टको संस्था रेकर्डिस्ट एसोसियनलाई ५० प्रतिशत र गरिब जेहनदार बालबालिकाको शिक्षाका लागि ५० प्रतिशत खर्च गर्ने बताइन् ।

‘एकल साँझबाट उठेको एक पैसा पनि नलिने घोषणा गरेकी छु । आयोजक र अञ्जु पन्त फाउन्डेसनले नाफाको आधा–आधा पैसा लिनेछ, फाउन्डेसनको पैसा बालबालिकाको शिक्षामा लगानी गरिनेछ,’ अञ्जुले भनिन् । कार्यक्रममा ३ हजार, २ हजार र १ हजार रुपैयाँका टिकटको व्यवस्था गरिएको छ ।