प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा दुई मतपत्र

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र बनाउने तयारी थालेको छ। आयोगका प्रवक्ता नवराज ढकालका अनुसार दुई वटा मतपत्र बनाउने गरी आयोगले तयारी थालेको छ।प्रतिनिधि सभा र प्रदेश सभा दुवैका निर्वाचन एकसाथ हुने भएकाले दुवै चुनावका लागि एउटै मतपत्र बनाउने विषयमा छलफल भइरहेको उनले बताए।

दुवै सभाको निर्वाचनका लागि प्रत्यक्षका लागि एउटा र समानुपातिकका लागि एउटा मतपत्र हुने उनले बताए। ‘एकैपटक मतदान हुने भएकाले प्रत्यक्षका लागि प्रदेश सभा र प्रतिनिधि सभाका लागि एउटा मतपत्र र समानुपातिकका लागि एउटा मतपत्र हुन्छ,’ उनले भने। प्रत्यक्ष र समानुपातिकका लागि दुई मतपत्र हुनेछन्। प्रत्यक्ष तर्फको मतपत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका लागि छाप लगाउन दुईदुई चुनाव चिन्ह हुनेछन्। समानुपातिकाका लागि भने एउटै चुनाव चिन्ह राख्ने वा दुई चुनाव चिन्ह राख्ने भन्ने विषयमा छलफल भइरहेको ढकालले बताए।

प्रत्यक्ष तर्फको मतपत्रमा एउटै पार्टीको दुई वटा चुनाव चिन्ह हुन्छ, प्रतिनिधि सभाका लागि एउटा र प्रदेश सभाका लागि एउटा। तर, यी दुई चुनाव चिन्ह कसरी राख्ने भन्ने चाहिँ निश्चित नभएको उनले बताए। समानुपातिक निर्वाचनका लागि भने एउटै चुनाव चिन्ह राख्ने वा अलगअलग चुनाव चिन्ह राख्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए।

‘दललाई मत हाल्ने भएकाले समानुपातिकको मतपत्रमा एउटै चिन्ह राख्ने कि भन्ने छ,’ उनले भने,’दुवै चिन्ह राख्नुपर्छ भन्ने कुरा पनि आएको छ। हामी कानुन पर्खिरहेका छौं, कानुनमा जस्तो व्यवस्था हुन्छ, त्यही अनुसारको मतपत्र बनाउँछौं।’

अहिले प्रतिनिधि सभा निर्वाचन र प्रदेश सभा निर्वाचन सम्बन्धि कानुन संसदमा विचाराधिन छन्। मतपत्र सम्बन्धि व्यवस्था यी नै कानुनमा गर्नु आवश्यक छ। समानुपातिक तर्फपनि प्रतिनिधि सभा र प्रदेश सभाका लागि अलग अलग चुनाव चिन्ह भएमा मतदाताले जम्मा चार छाप लगाउनु पर्ने छ। तर, दुवैका लागि एकै चुनाव चिन्ह राखिएमा तीन छाप मात्रै लगाए हुनेछ। केही दिन भित्रै डिजाइन सकेर मतपत्र छपाइको तयारी थालिने ढकालले बताए। तर, समानुपातिक तर्फको मतपत्र डिजाइन भने कानुन पाएपछि मात्रै गरिने उनले बताए।