अस्ट्रेलियालाई हराउँदै बंगलादेशले टेस्ट क्रिकेटमा इतिहास रच्यो

एजेन्सी, ढाका,बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सबै विकेटको क्षतिमा २ सय ४४ रनमा समेटिए सँगै बंलादेश विजयी भएको हो ।

टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो जित हो । दुई टेस्टको श्रृखंलामा बंगलादेशले १–० को अग्रता लिएको छ । एक समय २ विकेटको क्षेतिमा १ सय ५८ रन जोड्दै बलियो अवस्थामा रहेको अस्ट्रेलियाले थप ८६ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।

बंगलादेशका सकिव अल हसनले ८५ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिएपछि टोलीको जितको आधार तयार भएको थियो । त्यस्तै तैजुल इस्लामले ३ विकेट लिएका थिए । बंगलादेश दोस्रो इनिङमा २ सय २१ रनमा अलआउट भएको थियो ।

अस्ट्रेलियाले २ विकेटको क्षतिमा १ सय ९ बाट चौथो दिनको खेल सुरु गरेको थियो । टेस्ट क्रिकेटमा वार्नरले १९ औं शतक पुरा गरेका थिए । त्यसअघि बंगलादेशले पहिलो इनिङमा २ सय ६० र अस्ट्रेलियाले २ सय १७ रन बनाएका थिए । यी दुईबीचको दोस्रो टेस्ट चिट्टगोङमा सेप्टेम्बर ४ मा सुरु हुनेछ ।