संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको प्रधानमन्त्री देउवाकाे दावी

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनबारे भारतसँग कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् । पाँचदिने भारत भ्रमणबारे संसद्लाई जानकारी गराउँदै सोमबार देउवाले विभिन्न राजनीतिक दल तथा केही सञ्चारमाध्यममा संशोधनबारे आएको टिप्पणी सही नभएको दाबी गरे ।संविधान निर्माण, स्वीकार्यता तथा कार्यान्वयन मुलुकको राष्ट्रिय प्राथमिकताको एजेन्डा भएको उनले बताए ।

उनले भने, ‘राष्ट्रिय प्राथमिकताका एजेन्डाबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराउनु अस्वाभाविक विषय होइन । नेपालको शान्तिप्रक्रिया र लोकतन्त्रको संक्रमणमा सघाउँदै आएका छिमेकी एवं मित्रराष्ट्रले यी विषयमा जिज्ञासा राख्नुलाई नाजायज भन्न मिल्दैन ।’ देउवाले संविधान कार्यान्वयनको सम्बन्धमा छिमेकी वा कुनै मुलुकको हस्तक्षेप स्वीकार्य नहुनेसमेत बताए । देउवाले भारतमै संशोधनको विषय उठाएपछि प्रमुख प्रतिपक्षी दल एमालेले कडा आपत्ति जनाएको थियो । सत्तासाझेदार दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्री भारतमा संशोधनको विषय उठाउनु गलत भएको प्रतिक्रिया दिएका थिए ।

डुबानबारे अध्ययन गर्न विज्ञ टोली

प्रधानमन्त्री देउवाले तराई क्षेत्रलगायत सिमाना क्षेत्रमा बर्सेनि हुने गरेको डुबानको समस्याबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताएका छन् । उनले भने, ‘बाढी तथा डुबानको समस्या शीघ्र संवाद हुनुपर्ने विषयमा मैले गम्भीर कुरा राखेँ । सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको दीर्घकालीन समाधानका लागि ठोस सुझाब तयार पार्न विज्ञहरूको टोली खटाउने सहमति भएको छ ।’ देउवाले डुबानको समस्याबारे आफूले बिहारका मुख्यमन्त्रीसँग समेत छलफल गरेको बताए ।

थप सहमति

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत प्रतिवेदन एक महिनाभित्र टुंगो लगाउने सहमति भएको उनले बताए । देउवाले सप्तकोसी उच्च बाँध र सुनकोसी डाइभर्सन प्रोजेक्टको डिपिआर छिट्टै तयार पार्ने सहमति भएको पनि जानकारी दिए । भारतको लगानीमा बनिरहेका विभिन्न आयोजनाहरू तोकिएको समयमै सम्पन्न गर्नेबारे आफूले कुरा उठाएको उनले बताए । ऊर्जा व्यापार, व्यापार सहजीकरण, जलविद्युत्, कृषि, औद्योगिक क्षेत्रबारे समेत दुईदेशीय गतिविधिलाई व्यवस्थित र सहज बनाउनेतर्फ छलफल भएको देउवाले जानकारी दिए ।

उनले भने, ‘भारतका निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गरेको छु । नेपालको पर्यटन क्षेत्रको विकासबारे समेत महत्वपूर्ण छलफल भएको छ । यसका अतिरिक्त भारतको अनुदानमा नेपालको सुदूरपश्चिममा एक प्राविधिक शिक्षालय बनाउने तथा तनहुँमा जिपी कोइराला स्वासप्रस्वास रोग नियन्त्रण केन्द्र निर्माण गर्नेबारे सैद्धान्तिक सहमति भएको छ ।’ देउवाले तराईका विभिन्न सडकखण्डको स्तरोन्नति तथा द्रुतमार्ग निर्माणबारे समेत छलफल भएको बताए ।

देउवाले भारतीय समकक्षी मोदीसँग नेपाली नम्बर प्लेटका बुलेटको विषयमा छलफल गरे पनि भारतमा भारतीय नम्बरप्लेटका बुलेट मात्रै सञ्चालन हुन सक्ने जवाफ आएको जानकारी गराए । उनले भने, ‘भारतमा भारतीय नम्बरप्लेटका बुलेट मात्रै सञ्चालन हुन सक्ने भारतीय प्रधानमन्त्रीले जानकारी गराउनुभएको छ । तथापि यसबारे दुईपक्षीय कुराकानी जारी राख्न सकिने सुझाब प्राप्त भएको छ ।’ आफ्नो भारत भ्रमणले दुई देशको सम्बन्धलाई अझ सुदृढ बनाएको प्रधानमन्त्री देउवाको तर्क छ ।

राप्रपाको आपत्ति

राप्रपाले प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा संविधान संशोधनको पक्षमा दुईतिहाइ पुर्याउन नसकेको र आगामी निर्वाचनमा दुईतिहाइ पुर्याएर संशोधन गर्ने बताएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका सांसद दिलनाथ गिरीले नेपाली जनतालाई गम्भीर चोट पुग्ने अभिव्यक्ति प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको बताए । उनले भने, ‘प्रजातन्त्रलाई कमजोर बनाउने काम प्रधानमन्त्रीबाट भएको छ । यसबाट नेपाली लज्जास्पद अनुभव गर्न विवश छन् । नेपाली जनताको शिर झुकाउने प्रयास भएको छ ।’