भारतमा बोलेका कुरा सब ठिक भएकाे प्रधानमन्त्री देउवाकाे दाबी

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमण सफल भएको दाबी गरेका छन् । पाँचदिने भ्रमण सकेर आइतबार साँझ फर्किएका देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न भारत तयार भएको र आठबुँदे समझदारीपत्रमा हस्ताक्षर भएको बताए । मेची नदीमा पुल बनाउने, प्रसारण लाइनको उद्घाटन, नेपाल र भारतबीच उत्पादित सामानहरूको निर्यातका लागि मापदण्ड निर्धारण ब्युरो बनाउने, लागुऔषध नियन्त्रण गर्नेजस्ता विषयमा समझदारी भएको उनले बताए ।

भारतमा रहँदा संविधान संशोधनका विषयमा आफूले ठीक बोलेको दाबीसमेत देउवाले गरे । ‘संविधान संशोधन आवश्यक छ । यो देश र जनताको चाहना हो । यसैका लागि हामीले संशोधन प्रस्ताव टेबल ग¥यौँ । तर, फेल भयो, दुईतिहाइ पुगेपछि फेरि पनि टेबल हुन्छ । र पास हुन्छ,’ उनले भने । संविधान संशोधनको विषयमा भारतमा किन बोल्नुभयो भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले भने, ‘मधेसका जनतालाई सहमतिमा ल्याएर संशोधन गर्न खोजका हौँ । संशोधन हुँदा मधेसका जनताहरूले सहज रूपमा निर्वाचनमा भाग लिने वातावरण बन्थ्यो । यो हाम्रो धारणा हो । यस्ता विषयमा कतै बोल्न नपाउने भन्ने छैन । मैले यथार्थ कुरा भनेको हुँ ।’

आफूले नराम्रो नबोलेको दाबी गर्दै देउवाले भने, ‘के बोल्न हुने, के बोल्न नहुने भनेर सहमति गरौँ, एउटा मापदण्ड बनाउँ । होइन भने मैले भएको कुरा भनेका हुँ । नराम्रो केही भनेको छैन ।’ देशको शिर निहुराउने गरी कुनै काम नगरेको उनको तर्क छ ।

७ साउनमा ४८ सदस्यीय टोलीको नेतृत्व गर्दै देउवा भारतको राजकीय भ्रमणमा गएका थिए । भारतमा रहँदा देउवाले राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराजसहित राजनीतिक दलका शीर्ष नेतासँग भेट गरेका थिए । भारतीय प्रधानमन्त्रीसँग आठबुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका देउवा संविधान संशोधनका लागि पुनः पहल गर्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन् ।