कतै राहतै राहत फालाफाल, कतै हाहाकार !

राप्ती–सोनारी गाउँपालिका–५, टडुवाका बाढीपीडितलाई राहत सामग्री लिन भ्याई नभ्याई भएको छ । तर, राप्ती–सोनारी गाउँपालिका–३, साईपूर्वाका बाढीपीडितको दिन राहतको पर्खाईमा वित्ने गरेको छ । वडा कार्यालयले एक पटक थोरै मात्रामा राहत वितरण गरेको भए पनि कुनै संघसंस्था र राजनीतिक दल अहिलेसम्म सहयोग नगरेको स्थानीय भागरथी चौधरीले बताइन् ।

अन्य बाढी प्रभावित क्षेत्रमा विभिन्न संघसंस्थाले राहत वितरण गरेको सुनेपछि पाउने आशाले पुगेको तर राहत नपाएको उनले बताइन् । दिनभर राहतको पर्खाइमा बित्ने गरेको बताउँदै उनले पानी सद्धिकरण गर्ने पियूस समेत नपाएको बताइन् । ‘हरेक दिन राहतको पर्खाइमा बित्छ, कुनै नौलो मानिस आउँदा राहत लिएर आएका हुन् की भन्ने लाग्छ,’ उनले भनिन् । उनले प्रति व्यक्ति ५ किलो चामल, एक किलो दाल, एक किलो नुन र एक लिटर खाने तेल बाहेक अरु कुनै राहत सामग्री नपाएको गुनासो गरिन् । ‘हाम्रो गाउँमा खै किन आउँदैनन् राहत बाँड्न ?, घरमा खाने, लाउने केहि नभएर रुन मन लाग्छ,’ उनले थपिन् ।

तर, राप्ती–सोनारी गाउँपालिका–५, चिलहरियाका गुरुदाश थारुलाई राहत लिन भ्याई नभ्याई हुन्छ । राहत दिन आउने र नाम लेख्नेहरुसँग नै उनको दैनिकी बित्ने गरेको छ । उनले २ पटक दाल, चामल, तेल, ओढ्ने झुल, लत्ताकपडा पाइसकेका छन् । ‘कहिले को, कहिले को राहत वितरण गर्न आइराख्छन्, नाम लेखाउन र राहत लिनमै बित्छ दिन,’ उनले भने ।

डुडुवा गाउँपालिका–२, वेतहनीका रुपरानी लोनियाले पनि पटक–पटक राहत पाएकी छन् । उनको गाउँमा २ पटक स्वास्थ्य शिविर संचालन भइसकेको छ । भने, राहत कम्तीमा ४ पटक राहत वितरण भइसकेको छ । उनले चामल, दाल, नुन, तेल, त्रिपाल, झुल, बालबालिकाका लागि कापी, कलम, चाउचाउ, दालमोठ, चिउरा लगायत राहत सामग्री पाएको बताइन् । ‘बाढी आएपछि वर्षेनी राहत वितरण हुन्छ, राहत वितरणका लागि तछाडमछाड नै हुन्छ, तर डुवान, पटान र कटानका लागि दीर्घकालिन योजना बनाउन तर्फ कसैको ध्यान जाँदैन,’ लोनियाले भनिन् ।

उनले राहत नभई राप्ती नदी र डुडुवा खोलामा आउने बाढीबाट बस्ती जोगाउन पक्की तटबन्धको व्यवस्था गरे राहत वितरण जरुरत नपर्ने बताए । ‘राहत वितरण गर्र्नेहरु हरेक वर्ष राहत वितरण गर्न पाएकोमा खुसी व्यक्त गर्छन्, तर हामीलाई राहत लिँदा पीडा बोध हुन्छ, हामीलाई राहत नभई पक्की तटबन्ध चाहिएको छ,’ उनले भनिन् ।

आस्था, क्षेत्र र जातियताको आधारमा राहत वितरण

बाँकेका बाढीपीडितले राहत वितरणमा विभेद भएको बताएका छन् । संघसंस्था र राजनीतिक दलहरु आफ्नो जाति, भाषा, वर्ण र आस्था मिल्ने गाउँ तथा टोलमा राहत वितरण गरिरहेको बाढीपीडितको गुनासो छ । मधेसवादी दलहरु मधेसी समुदायको बाहुल्यता भएको डुडुवा गाउँपालिकामा राहत वितरण गर्नुका साथै स्वास्थ्य शिविर समेत सोही गाउँपालिकामा राखेका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) ले राहत वितरण गर्नुका साथै डुडुवा गाउँपालिका वेतहनीका बाढीपीडितलाई भोजनसमेत गराएको छ । भने, २ पटक स्वास्थ्य शिविर संचालन गर्न सहजीकरण गरेको थियो ।

एमालेले साविक फत्तेपुरमा गर्न लागेको राहत वितरणलाई स्थानीयले रोकेका छन् । संघसंस्थाले पनि आफ्नो कार्य क्षेत्र भएका ठाउँका बाढीपीडितलाई मात्र राहत वितरण गरेको पाइएको छ । आफूखुसी र आफुलाई पायक पर्ने ठाउँमा मात्र राहत वितरण गरेका कारण कतैका बाढिपीडितले धेरै र कतैकाले नपाएका हुन् । ‘आफ्नो पार्टी, क्षेत्र, वर्ग र समुदायलाई लक्षित गरेर राहत वितरण गरेकै कारण आफूहरु राहत पाउनबाट छुटेको राप्ती–सोनारी गाउँपालिका–३, साईपुर्वाका माघुराम थारुले बताए । ‘कतै ह्वार–ह्वार्ती जान कतै कोही नआउने भएको छ, आफ्नो मान्छे पहुँचमा नभएका कारण राहत पाउनबाट छुट्यौँ,’ उनले भने ।

दीर्घकालिन समस्या समाधानको माग

बाँकेका बाढीपीडितले समस्या समाधानका लागि दिर्घकालिन योजना बनाउन सरकारसँग माग गरेका छन् । केहिदिन अघि परेको अबिरल बर्षाका कारण राप्ती नदीमा आएको बाढीले डुबानमा परेका राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाँउपालिकाका बाढीपीडितले डुवान, कटान तथा पटानको दीर्घकालिन समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन् । राप्ती नदी र डुडुवा खोलाको तटिय क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय हरेक बर्ष डुबानमा पर्दै आएका छन् । ति क्षेत्रमा बसोबास गर्नेहरु हरेक बर्ष जनधन तथा पशुचौपायाको क्षति ब्यहोर्दै आएका छन् । बाढीको दीर्घकालिन रुपमा समस्या समाधानका लागि गुरुयोजना बनाएर अगाडि बढ्नु पर्ने राप्ती–सोनारी गाउँपालिका–३ बनघुस्रीका तुलसीराम थारुले बताए । उनले समयमा योजना ल्याउन नसकेका कारण राप्ती नदी आसपास क्षेत्रका बासिन्दा वर्षेनी बाढीबाट पीडित हुन परेको बताए । नयाँ पत्रिकाबाट