सुस्तावासी अाफै जुटे गण्डक नहरको बाँध भत्काउन

नवलपरासीको सुस्ता गाँउपालिकाबासीले शुक्रबार पुनः गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका छन् । बाढीको पानी खेतमा जमेर ३ सय विगाहा क्षेत्रफलको अन्नबाली नष्ट भएको र क्षतिपुर्ति नपाएको भन्दै सुस्ताका छिबनी र सत्तपत्तिका किसानहरुले बाँध भत्काउने प्रयास गरेका हुन् । घरेलु औजारसहित पुगेका आक्रोशित स्थानीयले करिब १० मिटर लम्बाई, ३ मिटर गहिराई र १ मिटर चौडाई बाँध भत्काएका छन् । गाउँलेहरुले बाँधको ढिस्को, पलस्टर भत्काएका हुन् । स्थानीयले बाँध भत्काउन थालेपछि पुगेको प्रहरीले उनीहरुलाई रोकेको थियो ।

फाेटाे राताेपाटी

एक साता अघि पनि उक्त क्षेत्रका पीडित किसानहरुले पानीको निकासका लागि गण्डक नहरको बाँध भत्काउने प्रयास गरेका थिए । त्यसवेला पनि स्थानीय प्रशासनले रोकेको थियो । त्यतिबेला नेपाली र भारतीय पक्षबीच पानीको निकास गराउने, क्षतिपुर्ति व्यहोर्ने लगायतका विभिन्न बुँदामा सहमति समेत भएपनि सहमति अनुसार काम नभएको गुनासो गर्दै बाँध पुनः भत्काउन पुगेका हुन् ।दुई साता अघि परेको अबिरल बर्षाले स्थानीय रायपुरवाँ खोलाको बाँध भत्केर सुस्ता गाउँपालिकाको छिबनी, सत्तपत्ती, फेचुवा, रुपौलिया, महलबारी, कुडिया लगायतका क्षेत्रहरुमा बाढी पसेर डुबानमा परेका थिए ।