माटोसंग मुटु साट्ने रहर

हृदयकी रानी मार्टिना,
सगरमाथाको देशबाट न्यानो माया !

मध्य बर्खाको तातो तावामा छट्पटिदै यतिबेला तिमीभित्रको मायाको आयतन नापिरहेको छु । तिमीले हिउँ खेलाउँदै कावा खाइरहेको दृश्यलाई टेलिप्याथीको माध्यमबाट पसिनाले लपक्क भिजेको शरीरमा प्रवेश गराएर शितलताको अनुभव संगसंगै गरिरहेको छु । मान्छेभित्र रहेको भावनाको तार स्याटेलाइट भन्दा शक्तिशाली र सूर्यको प्रकाशभन्दा गतिमान हुने रहेछ । यो समय घरमा बुहार्तन खेपिरहेका बुहारीहरु आफ्नो जन्मघर जाने साइत हो । चाडपर्व लागेपछि घरमा कामको चटारो बढ्ने भएकाले तिनीहरुले माइत बस्ने अनुमति पाउँदैनन् । आखिर पृथ्वीको जस्तै मान्छेको कर्मचक्र पनि गोलो नै हुँदोरहेछ ।

नियतिको खटन नै अन्ततः मानवीय आदर्श बन्न पुग्छ । आखिर आआफ्नो भाग्यको दस्तुर ढिलो छिटो सवैले तिर्नैपर्छ । त्यसमाथि प्रकृतिले रचेको प्रेमको दस्तावेजमा सवैले हस्ताक्षर नगरी सुख्खै छैन् । मलाई त सुख–दुख अचार र भात जस्तै लाग्छ । भात दुख हो भने अचार सुख हो । थोरै अचारले धेरै भात निल्नु नै जीवनको सटिक परिभाषा हो । यदि तिमी सुखी बन्न चाहन्छ्यौ भने सानो उपलब्धीमा खुसी हुने अभ्यास गर ।

काम, क्रोध र लोभले श्रद्धा, प्रेम र विश्वासलाई धराशायी बनाउँछ । मनको सौन्दर्यले प्रेमको मापन गर्ने गर्छ । विषयगत रुपमा गरिने प्रेमले आत्माको तार कदापि छुन सक्दैन् । समग्रमा प्रेम आनन्दको अमरश्रोत हो, जो कहिल्यै शिथिल बन्दैन्, कहिल्यै पुरानो हुँदैन, न त माया लाएर कहिल्यै रित्तिन्छ । बरु जति समय वित्छ, उति प्रभावशाली, शक्तिशाली र मधुर बन्दै जान्छ । वास्तवमा रमाइलो संसार हैन, रमाइलो त मन हो । राम्रो कोही हुँदैन, राम्रो दिल हुन्छ । दिलभित्र सौन्दर्य नभए बाहिरी सौन्दर्य अप्राप्य हुन्छ ।

मानव हृदयमा झंक्रित हुने प्रेमका विषयमा कैयन महापुरुष, तपस्वी र दार्शनिकहरुले अतिशय श्रृंखला निर्माण गरेर गएका छन् । बुद्ध, महावीर, ईशा, गान्धी, टल्सटय, टेगोरजस्ता पथप्रदर्शकहरुले पनि प्रेमको महिमा गाएका छन् । हेर त मीठो बोलेर कण्ठ, माया लाएर मुटु, मुस्कान छरेर ओठ थोत्रिएको कतै तिमीलाई थाहा छ ? अनुभवीहरु भन्छन्, प्रेम निस्वार्थ हुन्छ । प्रेमले केही माग्दैन । पाउने आशा पनि गर्दैन् । विशुद्ध प्रेम मैनवत्ती जस्तै हो, जो आफै बलेर अरुलाई प्रकाश दिनमा गौरव गर्छ । साँचो प्रेम आत्माको उज्यालो लिएर फुट्दछ, हृदयको प्रकाशमा हाँस्दछ, बौद्धिक अनि आध्यात्मिक साधनाले मौलाउँछ । बुद्ध नै संसारका महान प्रेमी थिए । बुद्धले जस्तो प्रेम संसारका सर्वसाधारण मानिसले गर्न सक्दैनन् ।

किनकी जो कोहीले बुद्धले जस्तो प्रेमको साधना गर्न सक्दैनन् । न त प्रेमको महिमा र अर्थ नै बुझ्न सक्छन् । आँसुसंग हाँसो र मुटुसंग माटो साटेर बाँच्नको मज्जा नै स्वर्गीय आनन्द हो । कर्ममय संसार नै प्रेमको फुलबारी हो । त्यसैले त नीतिले खबरदारी लगाउँदै भनेको छ– ‘विना प्रेमको उपासना मुर्दा समान हुन्छ । नीति धेरै छ, आध्यात्मिकता छैन् । औपचारिकता छ, प्रेम छैन् । गणित छ तर काब्य छैन भने त्यो ज्ञानको कुनै सार हुँदैन् ।’ यसैले भन्न सकिन्छ प्रेम विश्वको सर्वाधिक आनन्ददायी सौन्दय हो । प्रेम आत्माको सवैभन्दा उत्तम भाव हो । त्यसैले प्रेमको सम्बन्ध कुनै विषयवस्तुसंग नभएर आत्मासंग हुनुपर्छ ।

‘प्रेम नै जीवनको पूर्णता हो ।’ रविन्द्रनाथ टेगोरले यसो भनेर प्रेमको परिभाषालाई विट मारेका छन् । प्रेमको अनुभूतिमा आएको गाढापनले आत्मिक हृदयको विकास हुन्छ । उसको आत्मा चौडा बन्छ । प्रेमको यही विशालताभित्र विश्व अट्न सक्छ । प्रेमलाई न मृत्युले मार्न सक्छ न समयले विनास नै गर्न सक्छ । जसरी जीवन अनन्त छ, त्यसरी नै प्रेम पनि अनन्त छ । अझ प्रकृतिको संरचना नै अनन्त छ । प्रेम र सौन्दर्यबीच अन्योन्याश्रित प्राकृतिक सम्बन्ध छ । फुलेको सौन्दर्यले सवैको हृदयलाई एकनास छुँदैन । त्यस व्यक्तिको हृदयलाई फुलले त्यति नै मात्रामा स्पर्श गर्दछ, जति मात्रामा उसले फुललाई प्रेम गर्न सक्दछ । नक्कली प्रेम त माया हो । बालक बालकको प्रेम, जवान जवानको प्रेम र बुढाबुढाको प्रेम नै सजातीय प्रेम हो ।

काम, क्रोध र लोभले श्रद्धा, प्रेम र विश्वासलाई धराशायी बनाउँछ । मनको सौन्दर्यले प्रेमको मापन गर्ने गर्छ । विषयगत रुपमा गरिने प्रेमले आत्माको तार कदापि छुन सक्दैन् । समग्रमा प्रेम आनन्दको अमरश्रोत हो, जो कहिल्यै शिथिल बन्दैन्, कहिल्यै पुरानो हुँदैन, न त माया लाएर कहिल्यै रित्तिन्छ । बरु जति समय वित्छ, उति प्रभावशाली, शक्तिशाली र मधुर बन्दै जान्छ । वास्तवमा रमाइलो संसार हैन, रमाइलो त मन हो । राम्रो कोही हुँदैन, राम्रो दिल हुन्छ । दिलभित्र सौन्दर्य नभए बाहिरी सौन्दर्य अप्राप्य हुन्छ । आत्माको प्रेम, उदारता, निर्मलता नै हाम्रो हृदय वा आत्माको सौन्दर्य हो । वास्तवमा हार्दिक प्रेम एउटा त्यस्तो शक्ति हो, ज्योति हो जसले शारीरिक दृष्टिले नराम्रो अनुहारमा पनि अद्भूत सौन्दर्य जड्दछ । दिव्य किरणको आभा भर्दछ । वास्तवमा सच्चा प्रेम एउटा मूल तथ्य हो । जसविना सम्पूर्ण जीवन फिका र निरस हुन्छ । भावनाका यिनै लहर तिमीमा अर्पण गर्दै विदा माग्छु ल । तिम्रो पत्र पाएपछि बाँकी कोरौंला ।