घाटामा रहेको विद्युत् प्राधिकरणको बैठक भत्ता ९ हजार !

नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले आफ्नो बैठक भत्ता आफैंले तीन सय ६० प्रतिशत बढाएर लिन थालेका छन्। उर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा बसेको समितिको बैठकले सञ्चालकहरूको भत्ता २५ सयबाट बढाई नौ हजार पुर्‍याएका हुन्।

अध्यक्ष तथा सञ्चालकहरूले गत फागुन ११ को बैठकबाट भत्ता बढाई लिन थालेको स्रोतले जनायो। फागुन ११ पछिका हरेक बैठकमा सञ्चालक समितिका अध्यक्ष, आमन्त्रित सदस्यले नौ हजारका दरले बैठक भत्ता लिन थालेका छन्। प्राधिकरण सञ्चालक समितिमा अध्यक्षसहित सात सदस्य छन्। समितिको बैठकमा उर्जा मन्त्रालयका कानुन हेर्ने सहसचिव र आधिकारिक युनियनका प्रतिनिधिलाई आमन्त्रित सदस्यका रूपमा बोलाई भत्ता दिने गरिएको स्रोतले बताएको छ।

घाटामा रहेको प्राधिकरण आफ्ना सञ्चालक समितिका पदाधिकारी आफ्ना सञ्चालक समितिका पदाधिकारीलाई सबैभन्दा बढी भत्ता दिने सरकारी निकाय भएको छ। नाफामा रहेका सरकारी निकायमध्ये राष्ट्रबैंकले पाँच हजार र नेपाल टेलिकमले चार हजारका दरले सञ्चालकहरूलाई भत्ता दिन्छन्। प्राधिकरणजस्तै घाटामा रहेको जनक शिक्षा सामग्री केन्द्रले सञ्चालकहरूलाई दुई हजार रुपैयाँ मात्र दिने गरेको छ।