आकस्मिक रूपमा किन भेटे मोदीले देउवालाई ?

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र समकक्षी नरेन्द्र मोदीबीच बुधबार साँझ भेटवार्ता भएको छ। बिहीबारको दुईपक्षीय वार्ताको तयारीस्वरूप आकस्मिक भेटवार्ता भएको नेपाल अधिकारीहरूले जानकारी दिएका छन्। कार्यतालिकामा नभएको भेटघाटका लागि दूतावासमा आयोजना गरिएको कार्यक्रम छोट्याएर देउवा मोदीको निवास ‘सेभेन रेस कोर्स’ गएका थिए।

भेटवार्ताको तयारी बुधबार बिहानैदेखि सुरु भएको थियो। नेपाली अधिकारीहरूले देउवा र मोदीको भेटलाई भारतलेनेपाललाई उच्च महत्त्व दिएको रूपमा बुझ्नुपर्ने बताएका छन्। दुई नेताको भेटपछि प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराईले भने, ‘यो एउटा शिष्टाचार भेटघाट हो। यो भेटघाटले प्रधानमन्त्री देउवाको भ्रमणलाई महत्त्व दिइएको दर्शाउँछ।’

स्रोतका अनुसार देउवा र मोदीबीचको भेटमा लामो समयदेखि हल नभएको पञ्चेश्वर परियोजनालगायतका विषयमा कुराकानी भएको थियो। केही ठूला परियोजनाबारे प्रशासनिक तहमा लामो समयदेखि कुराकानी भए पनि हल हुन नसकेकाले त्यसलाई राजनीतिक तहबाट समाधान गर्ने प्रयास भइरहेको छ।

पञ्चेश्वरलगायत परियोजना अघि बढाउनेबारे केही समयता मोदी आर्फैले पहल गरिरहेका छन्। स्रोतका अनुसार नेपाल र भारतबीच विभिन्न क्षेत्रमा समस्या हल हुनुको साटो झन् बढ्दै गएकाले त्यसलाई कसरी हल गर्ने भन्नेबारे उनले विमर्श गरेका थिए। भेटवार्तामा भारत र चीनबीच दोक्लम तनावबारे कुराकानी भए÷नभएको अधिकारीले खुलाएनन्। तर भारतीय कूटनीतिज्ञ तथा विश्लेषकहरूले यसबारे पनि कुराकानी भएको दाबी गरेका छन्।