भारतीय तटबन्धको पुर्नसंरचनाबारे छलफल गर्न पूर्वप्रधानमन्त्रीहरुको सुझाव

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो आसन्न भारत भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श लिएका छन् । चार दिनपछि भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा उठाउनुपर्ने विषयबारे छलफल गरेका हुन् ।

प्रधानमन्त्री देउवाले भदौ ७ गते बाट गर्ने भनिएको भारत भ्रमणको सन्र्दभमा दुई पक्षीय वार्ता तथा भेटघाटमा उठाउनुपर्ने विषयका बारेमा पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ भएको छलफलमा पुर्व प्रधानमन्त्रीहरुले भारत भ्रमणका क्रममा नेपाल र नेपालीको राष्ट्रिय हितलाई ध्यानमा राख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् ।

भारी बर्षापछि नेपालको तराईमा डुबान हुँदा ठुलो मात्रामा मानविय र भौतिक संरचनामा क्षति पुगेको र त्यसको मुख्य कारण दक्षिण क्षेत्रमा भारतले बनाएका संरचना भएकाले सीमा नजिक निर्माण गरिएको बाँध तथा तटबन्धको पुर्नसंरचना गर्नुपर्ने विषयमा वार्ता र छलफल गर्न सुझाव दिएको पूर्व प्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए । त्यसैगरी, नेपालमा उत्पादित वस्तु भारतमा सहज ढंगले जान सक्ने वातावरण बनाउन आवश्यक पहल गर्न पनि आफुहरुले सुझाव दिएको उनले बताए ।

छलफलमा पुर्व प्रधानमन्त्रीहरु झलनाथ खनाल, पुष्पकमल दाहाल, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहभागी थिए । पूर्वप्रधानमन्त्रीहरु केपी ओली र बाबुराम भट्टराई राजधानीमा नै भएर पनि बालुवाटार गएनन् ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणमा नयाँ एजेण्डा र विषयमा छलफल गर्नु भन्दा विगतमा गरिएका सहमति र सम्झौताको कार्यान्वयनको विषयमा दुई पक्षीय वार्ता केन्द्रित गर्न चाहेको बताउदै आएका छन् । नेपालमा प्रधानमन्त्री चयन भएपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय भ्रमण दक्षिणी छिमेकी राष्ट्र भारतबाट गर्ने चलन बसेको छ ।