भारतको कुन बाँधले नेपालको कहाँ कहाँ भयो डुवान ?

भारतले नेपालको दक्षिणी सिमानामा निर्माण गरेका झण्डै देढ दर्जन ब्यारेज, बाँध र तटबन्धका कारढ बर्सेनि तराईका सयौं बस्ती र खेती डुवानमा परिरहेको छ। एकतर्फी रुपमा निर्माण गरिएका यस्ता बाँध र तटबन्धका कारढ प्रत्येक वर्ष ठूलो धनजनको क्षति भइरहेको छ। कञ्चनपुरको शारदा र टनकपुर ब्यारेज, कैलाली- बर्दियाको कैलाशपुरी (गिरिजापुरी), बाँकेको लक्ष्मणपुर, दाङको कोइलाबास, कपिलवस्तुको महलीसागर, रुपन्देहीका रसियावाल-खुर्दलोटन र डण्डाफरेना, नवलपरासीको गण्डक (भैंसालोटन), रौतहटको बरगनिया र सुनसरीको कोसी ब्यारेजका कारण नेपाली भूभाग डुवानमा पर्दै आएका छन्।

त्यस्तै, बाँकेको कलकलवा, रौतहठको लालबकैया (कमला), मोरङको लुना र सप्तरीको खाँडो-पुनौली तटबन्ध पनि नेपाली भूमि डुवाउने कारक बनिरहेका छन्। पछिल्लो समय भारतले सीमामा समानान्तर सीमाझैं दुई लेनको सडक बनाउँदा पनि डुवान समस्या निम्तिरहेको विज्ञहरु औंल्याउँछन्। बाँकेको हिरमिनिया (साविकको गाविस) को सिमानामा भारतले बाँधजस्तो सडक निर्माण गरिसकेको छ।

जमिनको सतहबाट निकै अग्लो उक्त सडकले वर्षाको पानीको निकास रोक्दा हिरमिनिया क्षेत्र डुवानमा पर्दै आएको छ। एमाले सांसद एवं व्यवस्थापिका संसदको विकास समितिका सभापति रवीन्द्र अधिकारीले बाढीका बेला चर्चामा ल्याएर समस्या समाधान नहुने बताए। ‘म विद्यार्थी नेता हुँदा सिमानामा निर्माण भएका बाँध तथा तटबन्धबारे कुरा उठाएँ, निर्माण गर्नु हुन्न, रोक्नुपर्छ भनेर अभियान चलाएँ’ उनले भने, ‘भारतले एकतर्फी रुपमा निर्माण गर्‍यो, यसबारे सरकारले भारतसँग छलफल गरेर समस्या समाधान खोज्नैपर्छ, नत्र प्रत्येक वर्ष समस्या बल्झदै जान्छ।’