मध्य र पश्चिममा अझै मनसुन हुने

जल तथा मौसम विज्ञान विभागले पूर्वमा खतरा टरेको तर मध्य र पश्चिममा मनसुन केन्द्रित भएकाले उच्च खतरा हुन सक्ने चेतावनी दिएको छ । विभागका अनुसार बुधबारदेखि सक्रिय बनेको मनसुन प्रणाली पूर्वमा निष्क्रिय हुँदै मध्य र पश्चिममा केन्द्रित भएकाले खतरा बढेको हो ।निरन्तरको वर्षाका कारण पूर्वमा बाढी, पहिरो र डुबानले ठूलो धनजनको क्षति पुर्‍याएको छ । मनसुन पूर्वमा सोमबारदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले बताए ।

काठमाडैां उपत्यकामा वर्षा नरोकिने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । स्थानीय न्यून चापीय रेखा र बंगालको खाडीबाट भित्रिएको न्यून चापीय रेखा एकआपसमा मिसिँदा मनसुन अस्वाभाविक बनी निरन्तर भारी वर्षा भएको पौडेलले बताए । उनका अनुसार मध्य र पश्चिम नेपालमा छुट्टै न्यून चापीय रेखा विस्तार हुँदा बंगालको खाडीबाट उच्च चापीय जलवाष्प निरन्तर भित्रिएकाले वर्षा नरोकिएको हो । निरन्तर वर्षा हुँदा मनसुन स्वाभाविक बनेको थियो । सातादेखि उच्च वर्षा हुँदा मुलुकका अधिकांश भूभाग बाढी, पहिरो र डुबानको चपेटामा परेको छ ।

मनसुन पूर्वमा सोमबारदेखि क्रमिक रूपमा सुधार आउने तर मध्य र पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ ।
बंगालको खाडीबाट न्यून चापीय रेखा जलवाष्पमा परिणत हुँदा चार महिनासम्म यो प्रणाली सक्रिय हुने गर्छ । यसै समय मनसुन नेपाल भित्रिनाले वर्षा हुने विज्ञको भनाइ छ । मनसुन प्रणाली भोलिदेखि निष्क्रिय भए पनि जलवाष्प आकाशमा भएकाले दोस्रो मनसुन प्रणालीको विकास भएर वर्षा हुनेछ ।

सामान्यतः जेठ २७ मा नेपाल प्रवेश गर्ने मनसुन यस वर्ष दुई दिन ढिला भएको थियो । असोज ७ गतेदेखि मनसुन नेपालबाट बाहिरिन्छ । मनसुनको मुख्य समय मानिने असार, साउन र भदौ महिनामा सामान्यदेखि भारी वर्षा हुने पौडेलले बताए ।
आइतबार पूर्वमा कम वर्षा भयो भने चितवन, नवलपरासी, महेन्द्रनगर, दाङ, दिपायल, धनगढीमा मनसुन केन्द्रित भएको थियो । बाढीले विराटनगरमा मौसम जाँच स्टेसन बगाएको छ । आइतबार बिहान नारायण स्टेसनमा चार सय ८० मिलिमिटर वर्षा भयो । यो वर्षकै उच्च हो । अन्य क्षेत्रमा सरदर तीन सय मिलिलिटर वर्षा भएको थियो । एकै घन्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएकाले यो निकै दुर्लभ मौसमी गतिविधि भएको मौसमविद्को भनाइ छ । छोटो समयमा धेरै वर्षा हुनुमा जलवायु परिवर्तन मुख्य कारक भएको अध्ययनले पुष्टि गरिसकेको छ ।

खतरा सतह पार

बबई नदीको चेपाङ क्षेत्र र भदा पुलमा पानीको सतहले खतराको सतह नाघेको छ । बबईको चेपाङ स्टेसनमा २४ घन्टामा तीन सय ६, रानीजमरामा दुई सय ६४, तुल्सीपुरमा दुई सय ३०, पदमपुरमा तीन सय ४०, अम्बापुरमा दुई सय ३६ मिलिमिटर पानी परेको छ । पश्चिम राप्तीको लमहीमा दुई सय तीन, नारायणीको पूर्वी राप्ती रजइयामा तीन सय ७०, रितु खोला वनकठामा दुई सय ९३, गोविन्द बस्तीमा एक सय ४६ मिलिलिटर पानी परेको छ । २४ घन्टामा एक सय ४० मिलिलिटरभन्दा बढी पानी परे उच्च जोखिम मानिन्छ । महाशाखाले शनिबार र आइतबार नौ पटक एसएमएस गरी सतर्क रहन चेतावनी दिएको थियो ।अन्नपुर्णमा खबर छ ।