प्याजको भाउ ह्वात्तै बढ्यो

बजारमा प्याजको मूल्य प्रतिकिलो ८० रुपैयाँ पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । अफ सिजनका कारण भारतमा प्याजको मूल्यवृद्धि भएको त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीको भनाइ छ । नेपालमा खपत हुने करिब ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।

उपत्यकामा अहिले थोकमा प्याजको मूल्य प्रतिकिलो ५५ र तराईमा ६० रुपैयाँ छ । मूल्यवृद्धिका कारण प्याजको खुद्रा मूल्य भने प्रतिकिलो ८० देखि ८५ रुपैयाँसम्म रहेको व्यवसायीको भनाइ छ । मूल्यवृद्धिअघि उपत्यकामा प्याजको थोक मूल्य प्रतिकिलो २३ देखि २५ रुपैयाँ थियो । भारतमा अझै केही दिन बाढीको समस्या यथावत् रहे प्याजको मूल्य प्रतिकिलो सय रुपैयाँ नाघ्न सक्ने प्याज आयातकर्ता अर्जुन सिलवालले बताए ।

भारतमा उत्पादित प्याज अविरल वर्षा र बाढीका कारण नष्ट हुँदा माग र आपूर्तिबीच तालमेल मिलेको छैन । यसले मूल्य अकासिएको उनको भनाइ छ । ‘वर्षापछि आएको बाढी र डुबानका कारण प्याजको भण्डार पनि प्रभावित भएकाले भारतमै मूल्य बढेको छ’, सिलवालले भने, ‘भारतमा मूल्य बढ्दा नेपालमा त्यसको प्रभाव पर्नु स्वाभाविक हो ।’