देशभर बाढीको प्रकोपः २२ को मृत्यु, चार वेपत्ता

शुक्रबार रातिदेखि लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी र पहिरोमा परि २२ को मृत्यु भएको छ । विवरण अनुसार विभिन्न जिल्लामा २२ जको मृत्यु भएको हो भने दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । गहमन्त्रालयका अनुसार अहिलेसम्म बाढी र पहिरोमा परेर देशभरमा २२ जनाले ज्यान गुमाएका छन् भने चार जना हराइरहेका छन् ।

पश्चिम नेपालका तीनवटा पक्की पुलहरु बगेका छन् । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।

प्रकोपबाट पीडित बनेकाहरुको उद्धारमा सुरक्षा संयन्त्र सक्रियरुपमा खटिरहेको गहमन्त्री श्रोतले जनाएको छ । अहिलेसम्मको विवरण अनुसार सुनसरीमा ७, सिन्धुलीमा ४, बाँकेमा ४, झापामा १ र मोरङमा १ जनाको मृत्यु भएको छ । शुक्रबार मात्रै पाँचथरमा पहिरोमा परेर ४ जनाको मृत्यु भएको थियो ।

शनिबार बिहानसम्म प्राप्त विवरण अनुसार सुनसरीको इटहरी उपमहानगरपालिकामा बाढीले बगाउँदा वालवालिका र वृद्धसहित ६ जनाको शव फेला परेको छ । बाढीका कारण इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनासमेत डुबानमा परेको छ भने बजार जलमग्न बनेको छ ।

मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको छ । रातिको बाढीले कुसुमेका ४ घर बगाएको छ भने देवीझोडा, बेलचौरीमा क्षति पुर्‍याएको छ । त्यस्तै केराबारी ५ मा समेत बाढी पसेको छ । केराबारीको डाँगी र मुगुमा समेत बाढीले क्षमति पुर्‍याएको छ । मोरङको सुन्दर हरैंचामा वृद्धाश्रममा रहेका ३ जना ज्येष्ठ नागरिकलाई बगाएर बेपत्ता बनाएको छ ।

बिराटनगर महानगरपालिका पूरौ जलमग्न देखिएको छ । विमानस्थलमा सुरक्षा गार्डको आवाससमेत डुबेको छ । मोरङ जिल्लामा करिब १५ सय घरहरु डुबानमा परेको प्रारम्भिक रिपोर्ट आए पनि क्षतिको पूर्ण विवरण आइसकेको छैन । लोहोन्द्रा, बक्राहा लगायतका खोलाले जिल्लामा ठूलो क्षति पुर्‍याएको छ ।

तर, नेपाल टेलिकमको सञ्चार सेवा रहस्यमय तरिकाले अवरुद्ध हुँदा सूचना संकलन गर्न कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । झापामा पनि बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा पारेको छ । झापामा बाढीका कारण एकको मृत्यु भएको छ भने दुईजना बेपत्ता बनेका छन् । दाङमा बबईको बाढीले तुल्सीपुर बजारलाई डुबानमा पारेको छ भने राजमार्ग भत्किँदा घोराहीसँगको सम्पर्क विच्छेद भएको छ । बाँकेको गाँवर खोलामा आएको बाढीका कारण एकै घरका ३ सहित चारजनाको मृत्यु भएको छ । बाढीले गावर खोलाको पुलसमेत बगाएको छ ।