बाढीले बगायाे सीमा स्तम्भ

बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन्। बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो। वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयको गुनासो छ। यो खबर हामीले आजको कान्तिपुरबाट लिएका हौ।

०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो। पॉच वर्षअघि मस्जदीयामा रहेको ६७०/८ नम्बरको सहायक स्तम्भ बगाएको स्थानीय प्रशासनले जनाएको छ। स्थानीय सुवेदार यादवले नदीले स्तम्भ बगाएपछि सीमा छुट्याउन समस्या भएको बताए। एक साताअघिको बाढीले कटानसँगै थप स्तम्भ पनि बगाएको छ। स्थानीय प्रशासन र प्रहरी टोलीले बुधबार सीमास्तम्भ बगेको क्षेत्र लटकनियाको अनुगमन गरे। टोलीमा प्रजिअ विष्णुबहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरालगायत सहभागी थिए। प्रजिअ थापाले सीमास्तम्भ बगाएको ठाउ‘ निरीक्षण गरि प्रतिवेदन बुझाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए।

गुलरिया–१० मस्जदीयाका लक्ष्मण मल्लाह दुई ठूला र तीन साना सीमा स्तम्भ बगिसकेको बताउँछन्। बाढीपछि नदीले यस क्षेत्रमा खेतीयोग्य जमिन बगाउदै आएको छ।

रत्नापुरका सुवेदार यादवले एक साताको अबधिमा करिब पचास विघा जग्गा कटान भइसकेको जानकारी दिए। ‘कटान गर्ने क्रम जारी छ,’ उनले भने,‘ठूलो बर्षा भए लटकनिया गाउ‘ नै बगाउने जोखिम छ।’ २०४०भदौ मा आएको भिषण बाढीले नदीको धार परिवर्तन गर्नुका साथै सिमा स्तम्भ नम्बर ८७ र ८८ बगाएको थियो।

हालसम्म बगाएका सिमा स्तम्भको खोजी वा पुन:निर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ। बर्दियासँग ८० किमि भारतीय सीमा जोडिएको छ। यहाँका ४७, ४९, ५८, ६५, ८१, ८७ र ८८ मूख्य सीमा स्तम्भ मर्मत र पुन:निर्माण नभएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ। बढैयाताल गाउ‘पालिकास्थित जमुनीको सीमा क्षेत्रदेखि राजापुर नगरपालिकासम्म ४१ देखि ९८ नम्बरसम्मका स्तम्भ छन्।

सीमा स्तम्भ मर्मत र पुन:निर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिदै गएको स्थानीयको बुझाई छ। प्रजिअ थापाले बगेका र अन्य सीस्तम्भको अभिलेख राखेर केन्द्रमा पठाइएको बताए।