पाउरोटीबाट फेरिएको जीवन

 जिल्ला सदरमुकाम खलंगामा बेकरी (पाउराटी) उद्योग सञ्चालन गरेका कमल बुढाथोकीको जीवन शैली परिवर्तन भएको छ । रुकुमको चौरजहारीमा लामो समय सम्म चिया, कमेनाको पसलवाट फेरिन नसकेको जीवन शैली जाजरकोट जिल्ला सदरमुकाम खलंगामा बेकरी उद्योग सञ्चालन गरेपछि बुढाथोकीको जीवनशैलीमा परिवर्तन आएको हो ।

सल्यान कालागाउँका कमल वुढाथोकीले जाजरकोट खलंगाको शान्तिचौतारामा बेकरी उद्योग सञ्चालन गरेको धेरै समय भएको छैन, मात्र दुई बर्ष पुग्न थालेको छ । बेकरी उद्योगको आम्दानीवाट जेठो छोरा रमेश बुढाथोकीलाई नेपालगञ्जमा हेल्थ असिस्टेन्ट पढाई रहेका छन् भने, माईलो छोरा सुनिल वुढाथोकीलाई कक्षा ९ र कान्छो छोरा दिवस वुढाथोकीलाई कक्षा २ मा जाजरकोटमै पढाई रहेका छन् ।

दुई बर्ष पहिले ४ लाख ५० हजार रुपैया लगानी गरेर सञ्चालन गरिएको बेकरी उद्योग बाहेक अन्य आम्दानीको श्रोत आफुसंग कुनै पनि नभएको कमल बुढाथोकीले जानकारी दिए । छोराहरुको पढाई–लेखाई अन्य घरपरिवारको स्वास्थ्य उपचार, लत्ताकपडा तथा खाद्यन्न जस्ता सवै कुराको ब्यबस्थापन यसै बेकरी उद्योगको आम्दानीवाट गर्ने गरेको बुढाथोकीको भनाई रहेको छ ।

स्वरोजगारका लागि सञ्चालन गरिएको बेकरी उद्योगमा दैनिक ६, ७ हजारको कारोबारी हुने गरेको बुढाथोकीले जानकारी दिए । उक्त उद्योगवाट उत्पादन भएका पाउराटीहरु जिल्ला सदरमुकाम खलंगामै पुर्याउन नसकिएको बुढाथोकीको भनाई रहेको छ । विस्तरावाट विहान उठे देखि बेलुकासम्म उद्योगमा काम गर्ने जनशक्तिका रुपमा आफ्नै लोग्ने स्वास्नीले मात्रै सवै काम गर्न भ्याई रहेको उनले जानकारी दिए । लोग्ने स्वास्नी मात्र जुटेर उत्पान गरेका पाउरोटीहरु रिम्ना, मटेला तथा चौरजहारी सम्म पुर्याउनै नसकिने उनको तर्क छ ।

बेकरी बनाउने मैदा पेल्ने मेसिन खरिदमा घरेलु तथा उद्योग विकास शाखाले बुढाथोकीलाई ८० हजार अनुदान सहयोग गरेपछि १ लाख १० हजार मुल्यको मेसिन ईण्डीयावाट खरिद गरेर ल्याएको बुढाथोकीले जानकारी दिए । हातले मैदा पेल्न निकै कठिनाई हुने गरेको बताउदै बुढाथोकीले भने–“मेदा पेल्ने मेसिन ल्याएपछि निकै सजिलो भएको छ, श्रम कम गर्नु पर्ने भएको छ, समयको बचत भएको छ, मेसिनमा पेलेको मैदावाट बनाईएका बेकरी राम्रो देखिनुको साथै खानालाई पनि स्वादिष्ट हुने गरेको छ ।”

लघु उद्योगलाई प्रमोट गर्न घरेलु तथा उद्योग विकास शाखाले जोड दिदै आएको उद्योग विकास अधिकृत ईन्दिरा भुसालको भनाई रहेको छ । विकासक्रमको गतिसंगै जिल्लाका सवै ठाउँका सवै नागरिकहरुलाई स्वरोजगार बनाउनका लागि पनि लघु उद्योगमा जोड दिनु पर्छ अधिकृत भुसालले वताईन् ।