सडक खाल्डोमा डुबेर निधन भएका चार बालकका बारेमा गृहमन्त्रीको यस्तो अायाे जवाफ

व्यवस्थापिका संसदको आजको बैठकमा गृहमन्त्री जनार्दन शर्माले पनि रौतहतको गरुडामा केही दिन अगाडि सडक किनाराको खाडलमा डुबी ४ बालिकाको मृत्यु भएको विषयमा सदनलाई जानकारी गराएका छन् । गृहमन्त्री शर्माले सभामुखसँग विशेष समयमा मागेर बोल्दै उक्त घटनाका सम्बन्धमा जानकारी गराएका हुन् ।

गृहमन्त्रालयले मन्त्रालयका शान्ति सुरक्षा शाखाका सहसचिव दिपक काफ्लेको संयोजकत्वमा ३ सदस्यी छानबिन टोली गठन गरी सकेको जानकारी गराउँदै गृहमन्त्री शर्माले उक्त छानबिन टोली हिजो नै घटनास्थल पुगेर घटनाको दोषी, पीडितलाई दिनु पर्ने क्षतिपूर्ति र भविष्यमा यस्तो घटना नदोहोरिन दिन गर्न सकिने उपायका विषयमा अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

गृहमन्त्री शर्माका अनुसार उक्त छानबिन समितिले १५ दिन भित्र उक्त विषयमा सुझाव पेश गर्ने पनि बताउँदै वर्षायाम शुरु भए लगत्तै मुलुकका विभिन्न स्थानमा बाढि, पहिरो, डुबानका समस्याहरु उत्पन्न हुने जोखिम रहेकाले गृहमन्त्रालयले अहिले त्यसलाई मध्यनजर गरेर मुलुकका विभिन्न तीन स्थानमा ३ वटा हेलिकोप्टरहरु राहत र उद्धारका लागि स्ट्यडबाई राखिएको पनि सदनलाई जानकारी गराएका छन् ।

स्मरण रहोस्, गत साउन २२ गतेको व्यवस्थापिका संसदको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुले यही रौटहतको विषयलाई लिएर केही बेर अबरुद्ध गरेको थियो भने तत्काल सभामुख ओनसरी घर्तीले सरकारको नाममा आउँदो बैठकमा सो विषयमा सदनलाई जानकारी गराउन निर्देशन आर्थात् रुलिङ गरेकी थिइन् ।