किन हकारे आईजीपी श्रेष्ठले एआईजी केसीलाई …..
एक साताअघि सशस्त्र प्रहरी बलले निकालेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा विवादमा परेको छ । प्रशासन विभागका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसीले सरुवामा मनलाग्दी गरेको भन्दै सरुवा बदरको मागसमेत उठ्न थालेको छ । विशेषगरी सिनियरलाई कमान्ड नदिई जुनियर र आफू निकटका डीएसपीलाई कमान्ड दिएको आरोप उनीमाथि लागेको छ । सरुवाप्रति असन्तुष्टि जनाउँदै कतिपयले सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठसँग असन्तुष्टिसमेत जनाएका छन् । सशस्त्रका कतिपय अधिकारीले भने गृहमन्त्री र सचिवसँग सरुवामा एआईजी केसीले चर्काे रकम असुलेको भन्दै रिपोर्टिङ गरेका छन् । सशस्त्रले डीएसपीको सरुवाअगावै दोहो-याएर कमान्ड नदिने नीति बनाएको थियो ।
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यसलाई कडाइका साथ पालना गर्न एआईजी केसीलाई भनेका थिए । तर सरुवा गर्दा उनले एकपटक कमान्ड गरिसकेका जहरसिंह बुढामगरलाई पुनः कमान्ड दिए । जहरसिंहलाई हलेसी गुल्म खोटाङमा सरुवा गरिएको थियो ।स्रोतका अनुसार, जब कानुन शाखाका डीएसपी युवराज अर्यालले सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठलाई डीएसपी सरुवामा एक पटक कमान्ड गरिसकेका व्यक्तिलाई पुनः कमान्ड दिएको रिपोर्टिङ गरे, तब उनी छांगाबाट खसेजस्तै भए । त्यसपछि आईजीपी श्रेष्ठले एआईजी केसीलाई बोलाएर यो के भएको हो भनेर सोधेका थिए ।
उनले यसलाई तुरुन्तै सच्याउन पनि आदेश दिएका थिए । त्यसपछि एआईजी केसीले आईजीपी श्रेष्ठसँग ‘गल्ती भयो हजुर, सरी’ भनेको स्रोतको दाबी छ ।यो पटक डीएसपीको सरुवामा एक पटक कमान्ड गरिसकेका विक्रम हुमागाईं र नेत्रबहादुर कार्कीलाई पनि कमान्ड दिइएको छ । हुमागाईंलाई औद्योगिक सुरक्षा गुल्म मोरङ र कार्कीलाई राजस्व च्हावट नियन्त्रण सुरक्षा गुल्ममा सरुवा गरिएको छ । तर, हुमागाईं र कार्की पहिला गुल्मपति हुँदा उनीहरुले कमान्ड गरेको ठाउँ बेसजस्तै थियो ।
त्यहाँ एकाउन्ट पनि थिएन । त्यसैले उनीहरु दुबैलाई अहिले कमान्ड दिइएको बताइएको छ ।एआईजी केसीको गम्भीर लापर्बाहीका कारण यो पटकको सरुवामा सिसं १ का डीएसपी दीपेन्द्र शाहलाई कमान्ड दिइएन । तर आईजीपी श्रेष्ठले पछि शाहलाई एफीएफ स्कुलको कमान्ड दिएका छन् । एपीएफ स्कुललाई यो पटकदेखि गुल्मकै हैसियतमा राखिएको छ ।सरुवामा आफ्नो सोझोपनको फाइदा उठाउँदै एआईजी केसीले मनपरी गरेको भन्दै आईजीपी श्रेष्ठ केसीसँग असन्तुष्ट भएको स्रोतको दाबी छ । एआईजी पदस्थापनामा केसीलाई अन्यत्र पठाउने मानसिकतामा आईजीपी श्रेष्ठ पुगेको स्रोतको दाबी छ