को को छानिए सशस्त्रको स्टाफ एन्ड कमान्ड कोर्षमा ?

सशस्त्र प्रहरी बलले लिएको तेस्रो चरणको स्टाफ एन्ड कमान्ड कोर्षका लागि २० जना छनौट भएका छन् । ४६ जना नायव उपरीक्षक (डीएसपी) ले परीक्षा दिएकोमा २० जना मात्र उत्तीर्ण भएका हुन् ।स्रोतका अनुसार, सिंस १ का दुई जना डीएसपीले परीक्षा दिएकोमा दुबै जना अनुत्तीर्ण भएका छन् । अनुत्तीर्ण हुने सिसं १ का डीएसपीमा मनिष थापा र प्रकाश थापा रहेका छन् ।सो परीक्षामा सिसं २ र ३ का १०–१० जना डीएसपी उत्तीर्ण भएका छन् । सिसं २ बाट उत्तीर्ण हुनेमा दीपक थापा, राजेश उप्रेती, राजु गौतम, राजकुमार लामिछाने, जनक पुरी, सञ्जय भट्टराई, भरत खनियाँ, रमेशकुमार पाण्डे, तीर्थ पौडेल र टोपबहादुर खनाल रहेका छन् ।

यसैगरी सिसं ३ बाट भानुभक्त लम्साल, रामजंग पाण्डे, देवराज अर्याल, विनोदराज खनाल, राजेश खरेल, शेरबहादुर अधिकारी, माधव रेग्मी, मानबहादुर शाही, केशवराज प्याकुरेल र अरुणकुमार शर्मा रहेका छन् ।यो पटक सिसं १, २ र ३ का इच्छुक डीएसपीलाई परीक्षा दिन पाउने व्यवस्था गरिएको थियो । जसमा सुरुमा ५२ जनाले आवेदन दिएकोमा पछि ६ जनाले आवेदन फिर्ता लिएका थिए । सो परीक्षा ३० असारदेखि ८ साउनसम्म भएको थियो । परीक्षाको भाइबा भने १६ र १६ साउनमा सोधिएको थियो ।यसअघि पहिलो चरणमा एक सय २० जनाले परीक्षा दिएकोमा १२ जना मात्र उत्तीर्ण भएका थिए । दोस्रो चरणमा एक सय जनाले परीक्षा दिएकोमा ९ जना मात्र उत्तीर्ण भएका थिए ।सशस्त्र प्रहरी बलमा स्टाफ एन्ड कमान्ड कोर्ष अत्यन्तै महत्वपूर्ण मानिन्छ ।

सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार यो कोर्ष नगरेका सशस्त्र प्रहरी अधिकृतहरु नायव महानिरीक्षक (डीआईजी) बन्न सक्दैनन् । डीआईजी बन्नका लागि यो कोर्ष गरेकै हुनुपर्छ । यो कोर्ष गर्न सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएर डीएसपी भएपछि तीन पटक परीक्षा दिन सकिन्छ । तर तीन पटक फेल भए ऊ यो कोर्षका लागि योग्य मानिदैन । उसको वृत्ति विकास यहीँबाट पछि पर्दै जान्छ ।परीक्षामा पास भएपछि उनीहरुले १८ महिना पढ्नु पर्छ । सशस्त्र प्रहरी बलले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन लिएर यो कोर्ष सञ्चालन गरेको हो । यो कोर्ष अहिले दुई सिफ्टमा सञ्चालन गरिएको छ ।

पहिलो सिफ्ट विहान ८ देखि ११ बजेसम्म र दोस्रो सिफ्ट मध्यान्ह १२ देखि ३ बजेसम्म सञ्चालन गरिएको छ । पहिलो सिफ्टमा सशस्त्र प्रहरी बललाई राज्यले दिएको म्यान्डेटका विषयमा पढाइ हुन्छ भने दोस्रोमा शान्ति, विकास र सुरक्षाबारे अध्यापन गराइन्छ । पहिलो सिफ्टलाई मास्टर डिग्री र दोस्रो सिफ्टलाई डबल मास्टर डिग्रीको मान्यता दिइएको छ ।तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको सक्रियतामा सरकारले सशस्त्र प्रहरी बललाई यो कोर्ष सञ्चालनको अनुमति दिएको हो ।

सशस्त्र प्रहरीका उच्च अधिकारीहरुलाई संगठनप्रति जिम्मेवार, दक्ष र काबिल बनाउन यो कोर्ष सञ्चालन गरिएको हो ।सशस्त्र प्रहरी नियमालवी २०७२ मा डीआईजी बन्नका लागि यो कोर्ष अनिवार्य गरिएको भएपनि अहिले एसपी बन्न पनि यो कोर्षलाई अनिवार्य गरिनुपर्ने आवाज पनि संगठनभित्र उठ्न थालेको छ ।