मेयर रेणुको लाेकप्रिय निर्णय,भरतपुर अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले पदभार ग्रहण गर्दै महिला हितका विषयमा पहिलो निर्णय गरेकी छन् । आइतबार साँझ ७ बजे महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै उनले भरतपुर अस्पतालमा महिला बिरामीका लागि ओपिडी टिकट निःशुल्क गर्ने निर्णय गरेकी हुन् ।

भरतपुर अस्पतालमा वार्षिक ३ लाख बिरामी आउने गरेकोमा ५५ प्रतिशत महिला आउने गरेको आँकडा रहेको महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले जानकारी दिए । यसका लागि महानगरपालिकाले ६० देखि ६५ लाख सम्मको खर्च अस्पताललाई भुक्तानी गर्नेछ । भरतपुर अस्पतालमा यो टिकटको ३० रुपैयाँ पर्छ भने जेष्ठ नागरिकलाई १५ रुपैयाँ पर्छ ।

जेष्ठ नागरिकलाई पनि निःशुल्क टिकट

जेष्ठ नागरिकलाई पनि ओपिडि अर्थात बहिरंग उपचार सेवामा निःशुल्क टिकट दिने निर्णय गरेकी छिन् । यो सेवा भरतपुरबासीका लागि मात्र नभएर भरतपुर अस्पताल जाने जो कोहीले पनि यो सुविधा पाउने भएका हुन् । यस्तै उपप्रमुख पार्वती शाह ठकुरीले स्वास्थ्यमा पहुँच नपुगेका बालबालिका र महिलाका लागि आवश्यक पर्ने खोपहरु लगाँउन र स्वास्थ्यको पहुँच पुर्याउन गाँउघर क्लिनिकको बिस्तार गर्ने निर्णय गरेकी छिन् ।अपराह्न प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनीयताको सपथ लिएपछि साँझ ७ बजे महानगरपालिका कार्यालय पुगेर दाहाल र शाहले महिला हितसँग सम्बन्धित पहिलो निर्णय गरेका हुन् ।