रेणुलाई फेसबुकमा गाली गर्ने देवी ज्ञवालीका छोरा पक्राउ
प्रकासित मिति : २०७४ श्रावण १८, बुधबार १०:५४
प्रकासित समय : १०:५४
माओवादी केन्द्रबाट चितवनको भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार रहेकी रेणु दाहाललाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले मेयरका नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीका छोरा निरवलाई पक्राउ गरेको छ । गत जेठ १४ गते राति माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि ज्ञवालीका छोरा निरवले फेसबुकमा आफूलाई गाली–गलौज गर्दै स्टाटस लेखेको भन्दै रेणुले चितवन प्रहरीमा उजुरी दिएकी थिइन् ।
तर, महानगरीय अपराध महाशाखाको टोलीले निरवलाई बुधबार (आज)मात्रै काठमाडौंस्थित पुतलीसडकबाट पक्राउ गरेको महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।निरवले उतिबेलै फेसबुक स्टाटस हटाउँदै माफी मागिसकेको उनको पारिवारिक स्रोतले जनाएको छ । आगामी २० गते भरतपुरको वडा नम्बर–१९ मा हुने पुनः मतदान प्रभावित गर्न निरव ज्ञवालीलाई पक्राउ गरिएको हुनसक्ने आशंका सर्वत्र गरिएको छ ।