न भन्न लायक काम, न गन्न लायक उमेर

चिट्ठी

प्यारी न्यान्सी,विरल माया !

अघिल्लो महिनाको चिट्ठीमा मैले तिमीलाई असारको बखान सुनाएको थिएँ । हिलो माटोमा कर्मको यज्ञ लगाउने हाम्रो परम्पराको पोको फुकाएको थिएँ । मेरो चिट्ठी पढेर तिमीभित्र नजानिदो रोमाञ्चकता र हुटहुटी पैदा भएको महसूस मैले गरेको छुु । असार १५ को दही चिउराको सगुनको पोको खोलेको दृश्य नओझेलिदै फेरि साउन १५ मा खिरको महिमा बोकेर मेरो चिट्ठी तिम्रो दैलो खोल्न आइपुगेको छ । हुन पनि हो– अब त चाडवाडका लस्कर लाग्न थालेका छन् । पात्रोका अधिकांश कोठामा राताको साम्राज्य छ । जब चाडपर्व नजिकिन्छन् अनि परदेशी मनहरुमा एकप्रकारको खुल्दुलीले पौंठेजोरी खेल्न थाल्छ । रातो सारी र छड्के तिलहरीसंगै छमछमी नाचेका दृश्यहरु सल्बलाउन थाल्छन् । मन त मनै हो नि कहिले पत्थर जस्तो कठोर भइदिन्छ त कहिले सिसाजस्तो कोमल ।

लेखक

अनि कहिले मरिच जसरी चाउरिन्छ त कहिले क्षितिजसरी फराकिलो भइदिन्छ । एक्कैछिनमा मन पशुपतिको कैलास डाँडामा बत्तिन्छ । हुन पनि सौन्दर्यको त्यो विचित्र लालिमाले कसलाई छुँदैन र ? विवाहित त त्यसै पनि भइ गए, विवाह नभएका युवतीहरुको चुरीफुरी पनि कम ठाँटिलो हुँदैन् । ‘फलानाकी छोरी गुन्यू चोलीमा कस्ती पुतली देखिएकी’ तिजले जुराउने शायद यही टिप्पणी कतिका लागि लगनगाँठोको डाँक पनि ठहरिएला । हाम्रा चाडपर्व साँच्चै मानव धर्मका सेतू हुन् । मात्र प्रयोगको कसीमा को कस्तो उत्रन्छ, त्यो उसको अनुभूति हो । शायद सम्मोहनले तानेर होला तिम्रा जर्ज ह्यारिसन गंगा नदीमा पहेंलो वस्त्र लगाएर आत्मशान्ति खोजिरहेका छन् । म्याडोनाहरु संस्कृत शब्दका गेडा केलाएर आफ्नो अस्तित्व खोजिरहेका छन् । तिमीलाई थाहा छ ? पाप र धर्मको दूरी त्यति टाढा छैन् । त्यही भात थालमा हुँदा भात ठहरिन्छ तर थालबाट झर्नासाथ जुठो हुन्छ ।

ईस्लाम धर्मले पृथ्वीका हरेक संरचनालाई प्रभुको स्वामित्व ठान्छ । तर हिन्दु धर्मले तिनै बस्तुलाई देउता ठानेर पुज्छ । यसरी हेर्दा यी दुई धर्मबीच ‘को’ भन्ने अक्षरको मात्र अन्तर छ । यसो नहुने हो भने फरक नै केही छैन् । मैले अनायास यी कुरा भनिरहँदा अनौठो लागिरहेको होला । यो लेखनीको उद्देश्य धर्म, संस्कृतिमा एकाकार गराउने मेरो लक्ष्य पटक्कै होइन । बरु एउटा कार्पेन्टरको छोराको असन्तुष्टिले उसलाई कसरी जिसस् क्राइष्ट बनायो ? मृत्युको कारण खोज्ने जिज्ञासाले लखेटेको एउटा युवराजले राजगद्दी छोड्ेको बद्ला भगवान गौतम बुद्धको मर्यादा कसरी आर्जन गर्यो ? यी प्रश्नको उत्तर पाउन तिमीले धेरै ठेलीहरु छिचोल्नु पर्छ । धर्म भनेको हामीले धर्तीमा आआफ्नो कुरो बिकाउन खोलेको गुठीको व्यापार होइन् ।

धर्म भनेको कर्तव्य र अनुशासनको चास्नी हो । सत्यको सत्मार्ग हो । जाडोमा घाम, गर्मीमा शितल, गरिबलाई दान, भोकोलाई रोटी नै धर्म हो । हिन्दु, वौद्ध, इसाई, मुस्लिम त मान्छेले चलाएको गोरखधन्दा मात्र हो । धर्म चलाउने भनिएका यी महामानवहरुले कहिल्यै अविरको पहाडले पुर्न आव्हान गरेनन् । भोको पेटले धर्मको आडम्बर गाउन भनेनन् । तर मान्छेहरुले ती अविचल धरोहरहरुका नाममा आफु अनुकूलको दुन्दुभि बजाए । यही भ्रमलाई हामीले धर्म ठान्यौ । एउटा बहुलट्ठीले डोरीलाई सर्प भनिदिदा हामी कहालिएर ज्यानको भिख माग्न कुद्यौं ।

हो संसारमा अँध्यारो छ र नै त, उज्यालोको बहस हुन्छ । रावणकै अस्तित्वले नत रामलाई भगवानको कोटीमा पु¥याएको छ । यी सवै दृश्यपछि मैले निकालेको निष्कर्ष हो– मानवताभन्दा पर अर्को ईश्वर छैन् । हाँसोभन्दा सुन्दर अर्को भाषा छैन् । क्रोधभन्दा पर अर्को शत्रु छैन् । मलाई थाहा छ– तिमीहरु पनि इतिहासका थुप्रै कहालिलाग्दा कालखण्ड पार गरेर यहाँ आइपुगेका हौ । हाम्रा पितापुर्खा फर्पिङमा उत्पादन गरेको बिजुलीको उज्यालोमा रमाउँदा तिमीहरु टुकी युगमै थियौ । तिम्रो देशमा काला र गोराबीच विभेदको जात्रा हुँदा बरु हाम्रोमा न्यायको तराजु भरपर्दो थियो । काला र गोराले किन्ने बजारमा आपूmलाई चाहिएको चिज बस्तु किन्न पाउँदैनथे । तिम्रो देशका चेरी, पुमा, डकोटा थरका आदिवासीहरु आजकल हेलिकोप्टर, गाडी र मिठाईमा सीमित भएका छन् । बरु कुसुण्डा राजामामा एक्लो किन नहुन ? उनलाई हाम्रो सरकारले छाप्रोको बन्दोबस्तो मिलाएर पालेको छ ।

तिमीलाई अचम्म लाग्ला– उसको उत्तराधिकारी पनि जन्मिसकेको छ । तर टुकी बाल्ने तिमीहरु युरेनियमबाट विजुली निकाल्ने भएका छौ । हामीहरु मरिचजस्तो खुम्चिएर एक चिम्टी खुसीका लागि संघर्ष गरिरहेका छौं । दाल, भात, डुकूको पिरलोले एकपछि अर्को पुस्तालाई समान गाँजेको छ । त्यसैले त मलाई लाग्छ– ‘भन्न लायक काम नगर्नेहरुको उमेर पनि गन्न लायक हुँदैन् ।’  समयका रुखमा अनेकौं हाँगा पलाइसके ।

अनेकौं फुलहरु फुलेर झरिसके । समयका हाँगा फेरिए, पात फेरिए , पालुवा फेरिए । भित्ता त्यही हो, हामीले देख्दादेख्दै अनगिन्ती पात्रोहरु फेरिए । क्षण, प्रतिक्षण, सेकेण्ड, मिनेट, घण्टा हुँदै समय दिनरात र वर्षमा चढ्दै शताब्दीयौं पार भइसक्यो । गाईले घाँस, बाघले मृग, सर्पले भ्यागुता खाने चक्रमा परिवर्तन आएको छैन् । तर यी सवैको अभिभावक मानिस विश्वासको कुनै चक्रभित्र पस्न सकेको छैन् । यही मानिस जसले माछा जस्तो पौडिन सिक्यो । चराजस्तो उड्न जान्यो । चितुवा जसरी दौड्न सिक्यो । कागजस्तो चलाख पनि दुरुस्तै हुन सक्यो । तर यतिका स्वभावलाई आफुभित्र अनुवाद गर्न सक्ने मानिसले मानिस भएर बाँच्न जानेन् ।

न्यान्सी, मेरा भावनाहरु पढिरहँदा तिमीलाई भावुक भएको भान पर्याे होला । संसारको सवै शास्त्र र कितावका ठेली पढिसक्दा पनि मान्छेको अनुहार पढी साध्य नलाग्ने रहेछ । हामी जति समस्याका गाँठा फुकाउँछौं, उति जेलिँदै जान्छ । अस्ति बनाएको मित्र आज शत्रुमा परिणत भइसक्छ । अरु त अरु ९० वर्षको बाबु आफ्नो ६० नाघेको छोरासंग अंशमा बादविवाद भएपछि चिच्याउँदै भन्छ– ‘तँ कति नालायक रहिछस् बल्ल चिनें ।’ आफ्नै काखमा हुर्काएर साठी वर्ष पुग्दा पनि आफ्नै छोरो नचिन्ने बाउ कस्तो होला ? यस्तो भएपछि जान्नु, बुझ्नु र चिन्नुको चक्रव्यूहमा घुमेको मानव जीवन कति तारेभीर बन्दो होला ? चोखो भाँडो होइन, मान्छेको मन हो । मनलाई चोखो, पवित्र र स्निग्ध बनाऊँ । यही नै धर्मको सार हो । मुक्तिको बाटो हो । अझ तप, जप र पूजा नै यही हो । कामना गर्छु– ‘तिम्रो जीवन पनि कसीमा अब्बल उत्रियोस् ।’                                                                                                                                              

                                                                                                                       यिनै शब्दसंगै विट मारें है त ।
                                                                                                                                 तिमीलाई माया गर्ने
                                                                                                                                    संकेत कोइराला