मानव तस्करको भर्‍याङ बन्दै दलका नेताहरू.., मन्त्री रुष्ट

खाडी मुलुकमा घरेलु कामदार (हाउसमेड) पठाउन सरकारले लगाएको प्रतिबन्ध खुलाउन ठूला तीन दलका नेता नै लागिपरेको खुलेको छ । प्रतिबन्ध फुकुवा गर्नका लागि तस्करको संगठित गिरोहले नेताहरूलाई प्रयोग गरी आफूलाई दबाब दिइरहेको श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले बताएका छन् ।

सरकारले पछिल्लोपटक चैत अन्तिम साता घरेलु कामदारका रूपमा कुवेत, कतार, साउदी अरेबियालगायत खाडी मुलुक जान प्रतिबन्ध लगाएको थियो । घरेलु कामदारका रूपमा जाने नेपाली युवायुवतीले चरम यातना पाएको, समयमा तलब नपाएको र महिला कामदारले यौनजन्य हिंसासमेत बेहोर्नुपरेको गुनासो आएपछि खाडी पठाउन प्रतिबन्ध लगाइएको हो ।

घरेलु कामदारमा नेपाली युवायुवतीलाई खाडी मुलुक लैजान पल्किएका अन्तर्राष्ट्रिय सञ्जालमा आवद्ध मानव तस्करले मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेपछि एमाले, कांग्रेस र माओवादी केन्द्रका नेतालाई समाएर श्रममन्त्री मन्सुरलाई दबाब दिन थालेका हुन् ।सरकारले प्रतिबन्ध लगाउने निर्णय गर्नुका साथै छुट्टीमा आएकाहरूको श्रम स्वीकृति नवीकरण नगर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो ।

व्यवस्थापिका–संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बिहीबारको बैठकमा मन्त्री मन्सुरले सांसद र विभिन्न राजनीतिक दलका नेताले प्रतिबन्ध हटाउन दबाब दिएको दाबी गरे । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।