भारतका हात्तीलाई नेपाल आउन कसले दियो भिसा ?

नीति अध्ययन प्रतिष्ठान नेपालले मंगलबार राजधानीमा एउटा कार्यक्रम गर्यो । नेपालका लागि भारतीय राजदुत मञ्जिभसिंह पुरीको स्वागत र ‘नेपाल एण्ड इण्डिया एक्स्फ्लोरिङ न्यु भिस्टास’ शीर्षकको पुस्तक बिमोचन कार्यक्रम थियो । करिव छ महिना अघिदेखि जिम्मेवारी सम्हालेका राजदुतको स्वागत र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणकै क्रममा आयोजना गरिएको सेमिनारमाथिको पुस्तकको सार्वजनिकीकरण समारोह सँगै भयो । संयोग कस्तो पर्यो भने राष्ट्रपति मुखर्जी नेपाल आउँदा गरिएको कार्यक्रमलाई समेटिएको पुस्तकको बिमोचन उनले राष्ट्रप्रमुखका रुपम बिदाई भएकै दिन भयो ।

आयोजक संस्था प्रतिष्ठानका निर्देशक डा. दिपक अधिकारीले सबैलाई स्वागत गर्दै नेपाल–भारत सम्बन्धकी केही प्रकृतिप्रदत्त पक्षलाई अघि सार्दै छलफललाई त्यता डोहोर्याउने कोसिस गर्नुभयो । उहाँले भारतीय मिडियामा ‘नेपालको बाढीले बिहार बगायो’ भन्ने खालका समाचारप्रति आपत्ती जनाउनुभयो । उहाँले भन्नुभयो– ‘नदि त माथिबाट तल बग्ने हो । अव त्यो नदिलाई के थाहा इमिग्रेसन अफिस कहाँ छ भनेर ?’ फेरि नेपाली मिडियाको अर्को समाचारप्रति पनि आपत्ती राख्नुभयो । ‘भारतका हात्तीले नेपाल पसेर नेपालीको ज्यान लिए । ती हात्तीलाई के थाहा नेपाल जाँदा भिसा लिनुपर्छ भनेर ?’ उहाँ यस्ता सन्देश सम्प्रेषणमा बिचार पुर्याउन संचारमाध्यमलाई आग्रह गर्दै हुनुहुन्थ्यो ।

कार्यक्रमका संचालक हुनुहुन्थ्यो भाष्कर कोईराला, जो चीनबाट बिद्याबारिधी गर्दैहुनुहुन्छ । नेपाल–भारत सम्बन्धको पुस्तक बिमोचन गर्ने कार्यक्रमका संचालक चीन दीक्षित । हो, यहीबाट सुरु गर्नुभयो भारतीय राजदुत पुरीले आफ्नो धारणा राख्न । भारतीय राजदूत पुरीले कार्यक्रममा यसो भन्नुभयो (संपादित अंश) :

दीपक अधिकारीजीलाई धन्यवाद छ, उहाँले नेपाल–भारत सम्बन्धको भावनात्मक पक्षलाई बडो सटिक र राम्रोसँग प्रस्तुत गर्नुभयो । उहाँले नेपाल–भारत सम्बन्धको प्राकृतिक सम्बन्धका बारेमा अघि उदारण दिनुभयो । नेपालका नदिमा बाढी आएर बिहार बिगार्यो भन्ने सन्दर्भ आयो । सही कुरा हो, नदिलाई के थाहा छ ? उनको ‘इमिग्रेसन’ कार्यलय कहाँ छ भनेर वा कसले हेर्छ भनेर ? भारतका हात्ती नेपाल आएर मान्छे मार्यो भन्ने सन्दर्भ पनि आयो । त्यो पनि सही हो कि भारतका हात्तीलाई नेपाल आउन कसले भिसा दियो ? के यी हामीले सृजना गरेका हौं ? यी त प्रकृतिप्रदत्त सम्बन्ध नै हुन् । भारतीय तिर्थयात्रु चीनको मानसरोबर नेपाल हुँदै जान्छन् । यही कार्यक्रमका संचालक कोईरालाजी चीनबाट विद्याबारिधी गरेका बिद्धान हुनुहुन्छ । यस्तो हुन्छ ।

भारत र नेपाल दुबै ‘नेशन स्टेट’ हुन् । तर एक अर्काको सम्मानको कुरा जरुरी छ । देश सानो वा ठूलो भए पनि सार्बभौमिकता समान नै हुन्छ । त्यसैले मिलेर काम गरौं, मिलेर अघि बढौं । दुबै देशको सुबिधा कहाँ छ, दुबै देशको पारस्परिक लाभ कहाँ छ । त्यहाँबाट अघि बढ्नुपर्छ । नेपाल–भारत सम्बन्ध कहाँबाट सुरु हुन्छ र कहाँ सकिन्छ भन्ने भन्दा पनि दुबै देशले कसरी एकअर्काको सहयोबाट फाइदा लिन सक्छन् भन्ने हो । भूराजनीति परिवर्तन हुँदैन, भूगोल परिवर्तन हुँदैन । तर नागरिक नागरिक बीचको सम्बन्ध परिवर्तन हुनसक्छ । अर्थात नागरिकको भूराजनीति परिवर्तन हुनसक्छ । म पहिला नेपाल आउँदा नेपाल र भारतको सम्बन्धका सेतुका रुपमा पटना र बनारस मात्र थिए । त्यसबेला पटना र बनारससँग मात्र नेपाल र भारतको सम्बन्ध जोडिन्थ्यो । आज यो परिवर्तन भयो । आज नेपाल र भारतका एयरलाइन्सका लागि यी पुराना सहर प्राथमिकतामा परेका छैनन् । तर हामी सुचारु गर्ने प्रयासमा छौं । हामी काँशीलाई काठमाडौंसँग जोड्न खोज्दैछौं ।

कसरी नेपालको भूराजनीतिले भारतलाई प्रभावित पार्छ ? के नदी माथिबाट तल बग्ने कुराले मात्र प्रभावित पार्ने हो ? मुख्य कुरा भौतिक पक्ष हो । सन् १९५० को शान्ति तथा मैत्री सन्धीले हाम्रो सम्बन्धलाई ‘ब्ल्याक एण्ड ह्वाइट’ राख्यो । एकअर्का देशका नागरिकलाई एकअर्का देशमा राष्ट्रिय व्यवहार गर्ने र दुबै देशको एक अर्काप्रति सहज पहुँच हुने व्यवस्था गर्यो । हाम्रो सम्बन्ध यो यथार्थमा आधारित सम्बन्ध हो । सन् १९५० मा नै द्विपक्षीय सम्बन्धको यो आयाम देख्यौं ।
हामीले पारवहन तथा यातायात सन्धी गर्यौं । मेरा मित्र शक्ति सिन्हा (जो यहाँ मंचमा हुनुहुन्छ)को पहलमा यो भएको हो । त्यो पनि नेपाल–भारत सम्बन्धको अर्को महत्वपूर्ण पक्ष हो, जसले एक अर्कालाई निकट बनाएको छ । हामीले साझेदारी गर्न खोजेको अर्को बिषय हो–ऊर्जा । नेपालसँग ऊर्जाको ठूलो स्रोत र संभावना छ । त्यसमा पनि नेपालमा जलविद्युतको ठूलो संभावना छ । त्यसैले तिनको उपयुक्त दोहन हुनुपर्छ । यसमा प्रबिधिले ‘गेम चेन्जर’ को भूमिका खेल्न सक्छ । अत्याधुनिक प्रविधिको प्रयोग गरी स्रोतहरुको दोहन गर्न सकिन्छ । भारतसँग यसको अनुभव छ । हामी जसरी पनि नेपाल–भारत सम्बन्ध सुमधुर हुनुपर्छ भन्नेमा छौं ।

सिंचाई अर्को महत्वपूर्ण क्षेत्र हो । कोसी बाँधबाट सिंचाई र बाढी नियन्त्रणमा ठूलो योगदान भएको छ । यो दुबै देशको लाभका लागि निर्माण गरिएको हो । दुबै देशले ‘विन–विन’ अवस्थामा सम्बन्ध अघि बढाउनुपर्छ ।