बढी पेन्सन खाने सोमलालको योजना यसरी असफल भयाे…

सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीको पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय खारेज गरेको छ । साथै उनको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको बिहीबारको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

सुवेदी एसियाली विकास बैंक (एडीबी)को वैकल्पिक कार्यकारी निर्देशकको जागिर खान फिलिपिन्सको मनिला गएका छन् । तर, थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन उनले राजीनामा नदिई आफ्नो पदलाई अतिरिक्त समूहमा राखेका थिए । यसले उनले झण्डै ४५ सय रुपैयाँ बढी पेन्सन पाउने थिए ।

यसमा सरकार र प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सहयोगी भएको भन्दै चर्को आलोचना भएको थियो । सांसदहरुले समेत चर्को आलोचना गरेपछि सरकारले सुवेदीको राजीनामा स्वीकार गर्नुका साथै उनको पदलाई अतिरिक्त समूहमा राख्ने निर्णय पनि खारेज गरेको छ ।