कांग्रेस भित्र कोइराला परिवारकाे बैठक पार्टीप्रति अायाे यस्तो धारणा
कांग्रेस नेतृत्वको सुस्त कार्यशैली र गुटबन्दीका कारण पार्टी संगठन कमजोर बन्दै गएको निष्कर्ष निकाल्दै राष्ट्रिय राजनीतिमा क्रियाशील कोइराला परिवारका तीन नेताले बुधबार एकै स्वरमा पार्टी संगठन एक बनाउने अभियान सुरु गर्ने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री सशांक कोइराला निवास टोखामा उनीसहित केन्द्रीय सदस्यद्वय शेखर कोइराला र सुजाता कोइरालाबीच भएको भेटघाटमा यस्तो उद्घोष गरिएको हो ।
वीपी पुत्र संशाक, नोना पुत्र शेखर र गिरिजाप्रसाद पुत्री सुजाताबीच वैचारिक रुपमा एक रहेको सन्देश दिनसमेत यस्तो भेटघाट गरिएको केन्द्रीय सदस्य शेखर कोइरालाले बताए । ‘पार्टी एक बनाउने र कोइराला परिवार एक छन् भन्ने सन्देश दिन पनि यो पारिवारिक भेटघाट गरिएको हो,’ शेखरले भने, ‘गुटभित्र अर्को गुट जन्माउने योजना पटक्कै होइन ।’आजको कान्तिपुरमा खबर छ ।
पार्टी संगठन चलायमान हुन नसकेको भन्दै पार्टीमा जस्तै सरकारमा पनि प्रधानमन्त्री शेरवहादुर देउवाको शैली सुस्त रहेको निष्कर्ष उनीहरुले निकालेका थिए । नेतृत्वको काम गर्ने शैलीमा परिवर्तन नआउँदा पार्टी संगठनलाई कमजोर बनाउने भन्दै शेखर र सुजाताले पार्टी नेतृत्वमा रहेका देउवालाई झकझकाउन महामन्त्री सशांक कोइरालाको ध्यानाकर्षण गराएका थिए ।
शेखरले असोज २ मा हुने प्रदेश नम्वर २ को चुनावमा कोइराला परिवारका तीन सदस्य नै अगल/अलग ठाउँमा खटिएर पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने बताए ।