यसरी पुरा भयो बिजुली बाल्ने सपना

रोल्पा कुरेलीका गाउँगाउँमा बिजुली पुगेपछि गाउँ नै झलमल भएका छन । साविकको कुरेली गाविस र हालको दुईखोली गाउँपालिका वडा नं १ का सबै घरमा विजुली पुगेपछि त्यहाँका स्थानीयमा खुशीयाली छाएको छ ।  

बगाउने खोला लघु जलबिद्युत आयोजना कुरेलीको समन्वय, वैदेशिक सहयोग र स्थानीयको जनश्रमदान तथा आर्थिक सहयोगबाट ५ सय ७३ घरधुरीमा बिजुली पुगेको हो ।

नेपाल सरकार बैकल्पीक उर्जा तथा प्रवद्र्धन कार्यक्रम अन्तर्गत स्वीडेन, डेनमार्क लगाएतका देशहरुको सहयोग र क्षेत्रीय सेवा केन्द्र बेस तुलसीपुर दाङको समन्वयमा ४ करोड १९ लाखको लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष मदन रोकाले जानकारी दिनुभएको छ ।

बिजुलीका लागी त्यहाँका स्थानीयले प्रतिघर १५ हजार रुपैया रकम उठाउनुका साथै श्रमदान पनि गरेका छन । अध्यक्ष रोकाका अनुसार बिजुली पुगेपछि कुरेलीका खरिबोट, सराबाङ, चैतलेक, तरान, कुरेली र मरुलका सैपु, मान्द्रा लगाएतका गाउँमा उज्यालो छाएको छ । रोकाले ३ वर्षको महनतपछि आयोजना सम्पन्न गर्न र त्यहाँका समुदाको अन्धकार हटाउन सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।

धेरै बर्षको पखाई र प्रयासपछि घर–घरमा बिजुली पुगेकोमा खुशी व्यक्त गर्दै स्थानीय भिम कुमारी बुढाले बिजुलीले गाउँ झलमल मात्र नभई समुदायवीच एकताको आभाष समेत भएको वताउनुभयो ।

समुदायमा सबै मिलेर साझा समस्या पहिचान गरी मिलेर काम गरेमा जस्तोसुकै योजना पनि सफल हुने उहाँको भनाइ छ । जिल्लाको उत्तर पुर्वी भागमा पर्ने उक्त गाउँका सर्वसाधारण यसअघि टुकी, मट्टितेल र सोलारको साहारामा अध्याँरो काट्ने गरेका थिए ।।