कहिले पुरा होला विजुली वाल्ने बारेकोट जिरीबासीको सपना..

 लघु जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरेर गाउँमै बिजुली बाल्ने बारेकोट जिरीबासीको बर्षौ पुरानो सपना हो । गाउँमै मोटरवाटो पुर्याएर गाडी चढ्ने सपना देख्नु, विद्युत उत्पादन गरेर घर–घरमा बत्ती बाल्ने सपना देख्नु समाज विकासको स्वभाविक नियमवाट पैदा भएको मानव चेतनाको विकास हो ।

बारेकोट गाउँपालिका–४ जिरीमा रहेको ऐयारीखोला लघु जलविद्युत आयोजनाको निर्माण कार्य थालनि भएको ८ बर्ष बितिसकेको छ तर, निर्माण कार्य अलपत्र परेको छ । लघु जलविद्युत आयोजना निर्माण गर्न खरिद गरिएका सामानहरु यत्रत्यत्र छरिएर रहेको अबस्थामा छन् । कतिपय इलेक्ट्रीकल सामानहरु खिया लागेर कमजोर आयुमा पुगिसकेका छन् भने, कतिपय सामानहरु हराउने अबस्थामा पुगि सकेका छन् । झार, काठ र पतिङ्गरले पुरिने अबस्थामा पुगेका विद्युत सामाग्रीहरुको हेरविचार गर्ने पनि कोही देखिदैन ।

ऐयारीखोला लघु जलविद्युत आयोजना निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिको लापरवाहीका कारण निमार्ण कार्य सुरु गरेको ८ बर्ष बितिसक्दा पनि आयोजनाको निमार्ण कार्यले गति लिन सकिरहेको छैन् । आयोजनाको निमार्ण कार्य सम्पन्न गर्नका लागि अन्य उपसमिति गठन गरिएको भएता पनि कामले गति लिन नसकेको स्थानियबासीहरुको भनाई रहेको छ ।

आयोजना निर्माणका लागि गठन गरिएको उपभोक्ता समितिले अन्य उपसमितिलाई कुनै जिम्मेवारी नदिएको सामान खरिद उपसमितिका अध्यक्ष जयलाल रावतले वताए । सामान खरिद उपसमितिको आफु अध्यक्ष भएको भएता पनि उक्त आयोजनाका लागि कहाँवाट कति सामान खरिद गरिएको छ भन्ने कुरा आफुलाई कुनै थाहा नभएको जयलाल रावतको भनाई रहेको छ ।

निमार्ण कार्य सुरु गरेको ८ बर्ष बितिसकेको ऐयारीखोला लघु जलविद्युत आयोजनाको निमार्ण कार्य सम्पन्न गर्नका लागि गठन–विघटन गर्दै तीन पटक उपभोक्ता समिति फेरवदल भैसकेको छ । सुरुमा गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावत हुन् भने, दोश्रो चरणका उपभोक्ता समितिका अध्यक्ष प्रकाण्ड रावत हुन् । आयोजनाका सम्पुर्ण खातापाताहरु सचिव पदमबहादुर शाहीले राख्ने भएको हुदा आयोजनाको आय, व्यय के कस्तो छ भन्ने कुरा आफुलाई कुनै जानकारी नभएको पहिलो चरणको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर रावतले वताए । आयोजनाको सामाजिक परिक्षण पनि नभएको अध्यक्ष धनबहादुर रावतको भनाई रहेको छ ।

उक्त लघु जलविद्युत्त आयोजना निमार्णका लागि संसद विकास कोषवाट प्राप्त भएको ७ लाख रुपैया दोश्रो चरणका अध्यक्ष प्रकाण्ड रावतले चलाएको तर, प्रकाण्ड रावतको पालामा कुनै पनि काम नभएको अध्यक्ष धनबहादुर रावतले ठोकुवा गरे ।गत बैसाख ३१ गते सम्पन्न स्थानिय तहको निर्वाचनवाट वडापालिकाको अध्यक्षमा सिर्जना बस्नेत निर्वाचित भएपछि वडापालिकाको प्रथम बैठकमा आगामी दशैमा गाउँमा बत्ती बाली सक्ने निर्णय गरिएको छ ।

दशै भित्र बत्ती बालि सक्नु पर्ने भन्दै प्रकाण्ड अध्यक्ष रहेको दोश्रो चरणको उपभोक्ता समितिलाई विघटन गरेर लालबहादुर सिंहको अध्यक्षतामा तेश्रो उपभोक्ता समिति गठन गरिएको छ । जिल्ला समन्वय समिति र गाविस अनुदानवाट प्राप्त रकमको सम्झौता गरि काम गर्न लालबहादुर सिंह अध्यक्ष रहेको उपभोक्ता समितिलाई सिफारिस गरि पठाइएको वडा अध्यक्ष सिर्जना बस्नेतले जानकारी गराईन ।
वडापालिकामा माओवादी पार्टीका प्रतिनीधिले चुनाव जितेपछि आफुहरुलाई आयोजनाको सामाजिक परिक्षण गर्ने मौका नै नदिएको आयोजनाका पुर्व सचिव पदमबहादुर शाहीको आरोप छ । आफु अनुकुलको नयाँ उपभोक्ता समिति गठन गरेर आयोजनालाई प्राप्त अनुदान रकमको सम्झौता गर्न सिफारिस गरिएको पदमबहादुर शाहीको भनाई रहेको छ ।