साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा
काठमाडाैँ,देशभर साठी हजार महिला श्रमिक मनोरञ्जन क्षेत्रमा काम गर्ने गरेका छन् ।चेतना अभिवृद्धि केन्द्र ९क्याप० नेपालले गरेको अध्ययनमा देशभर तीन हजार ५०० मनोरञ्जन क्षेत्रमा ६० हजार महिला श्रमिक काम गर्ने गरेका छन् । अध्ययनमा काठमाडौँको गोँगबु, कलङ्की, सुन्धारा, ठमेल साथै पोखरा, विराटनगर, नेपालगञ्जलगायत ठूला सहरमा रहेका होटल, रेष्टुराँ, दोहोरी, डान्सबारमा धेरै महिला श्रमिकले काम गरिरहेका छन् ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण कतिपय महिला उक्त क्षेत्रमा लागेको क्याप नेपालले जनाएको छ । मनोरञ्जनको क्षेत्रमा काम गर्ने कतिपय महिला श्रमिक यौन शोषणको सिकार बन्ने गरेकोमा उनीहरुलाई कसरी सम्मानित जिवन ज्ञापन गराउने बिषयमा क्याप नेपालले विगत १४ वर्षदेखि क्याप नेपालले काम गरिरहेको छ ।
धेरै होटल, रेष्टुराँ, दोहोरी, डान्सबार भएको क्षेत्र टोखा नगरपालिकाको गोँगबु क्षेत्रमा काम गर्ने महिलाहरुको हक अधिकारका लागि क्याप नेपालले आज टोखाका जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले अशिक्षा, बेरोजगार र चेतनाका कारण कतिपय महिला यौन हिंसाका सिकार बन्न पुगेको भन्दै यसलाई निरुत्साहित गर्न आफूहरु लाग्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “बालहिंसा, महिला हिंसा, छाडा चौपाया नियन्त्रण आफ्नो प्राथमिकता हो ।”
उपप्रमुख ज्ञानमाया डङ्गोलले महिला हिंसा र बाल श्रमको प्रयोग कहाँ कसरी भइरहेको छ भन्ने बारे नगरपालिकाले तथ्याङ्क सङ्कलन गर्ने र बाल श्रममा लगाउने तथा महिला हिंसा गर्नेलाई कडाभन्दा कडा कारबाही गरिने बताए ।
क्याप नेपालका अध्यक्ष भुपाल ढकालले आफ्नो संस्थाले १४ वर्षदेखि बाल हिंसा र महिला हिंसाको क्षेत्रमा काम गरेको उल्लेख गर्दै २५ जनालाई उद्धार गरी पुनःस्थापना केन्द्रमा राखिएको बताउनुभयो । भूकम्पपछि रोजगारको समस्याका कारण विभिन्न सहरभित्र भित्रिएका महिला तथा बालबालिका बढी हिंसाको सिकार बन्न पुगेको क्याप नेपालले जनाएको छ ।