अब छोराछोरीको १० प्रतिशत तलब वृद्ध बाबुआमालाई,
काठमाडौं, विभिन्न पेसा–व्यवसायमा संलग्न छोराछोरीले ६० वर्ष कटेका बुबाआमालाई कमाइको दश प्रतिशत रकम अनिवार्य रूपमा दिनुपर्ने भएको छ । सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ संशोधन गरी आमाबुबालाई अनिवार्य पैसा दिनुपर्ने बाध्यकारी नियम ल्याउन लागेको हो ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ऐन संशोधनको प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको छ । आफ्नै सन्ततिबाट वृद्ध बुबाआमा पीडित र अपहेलित हुने क्रम बढेकाले नयाँ नियम ल्याउन लागेको मन्त्रालयका सहसचिव महेन्द्रबहादुर थापाले बताए । थापाका अनुसार देशभरका जागिरे छोराछोरीले आफ्नो बुबाआमाको खाता खोली बैंकमार्फत रकम पठाउनुपर्ने व्यवस्थासहित ऐन संशोधन गर्न लागिएको हो ।
बिहे गरेकी जागिरे छोरीले पनि माइतीमा रहेका आफ्ना बुबाआमालाई कमाइको १० प्रतिशतका दरले महिनैपिच्छे बैंक ब्यालेन्स गरिदिनुपर्नेछ । यो व्यवस्था सरकारी कर्मचारी, पुलिस, सेनाबाट सुरुवात गर्ने तयारी मन्त्रालयले गरे पनि सरोकारवाला निकायससँगको छलफलपछि सबै जागिरे छोराछोरीका लागि अनिवार्य गर्न लागिएको हो ।
मन्त्रालयको विभिन्न अध्ययनले देशका अधिकांश जिल्लामा वृद्ध आमाबुबा आफ्नै सन्तानबाट प्रताडित हुने क्रम बढिरहेको देखाएको छ । सरकारले ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, उनीहरूमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्न श्रद्धा, आदर तथा सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले ०६३ मा ज्येष्ठ नागरिकसम्बन्धी ऐन ल्याएको थियो । सो ऐनमा ज्येष्ठ नागरिकलाई सबै सन्ततिले उचित भरणपोषणको व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । तर, व्यवहारमा भने लागू भएको छैन । कतिपयले त पैतृक सम्पत्ति आफ्नो नाममा नामसारी गरी बुबाआमालाई घरनिकालासमेत गर्दै आइरहेका छन् ।
सहसचिव थापाका अनुसार आफ्नै बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, घरबाट निकाला गर्ने छोराछोरीलाई जेल सजायसमेत हुनेछ । संशोधित ऐनमा बुबाआमाको खातामा रकम जम्मा नगरिदिने जागिरे छोराछोरी कारबाहीको भागीदार हुनेछन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।