तत्कालीन ‘जनसत्ता’ का लिखतलाई वैधानिकता दिलाउँदै माओवादी जनप्रतिनिधि

काठमाडौं : स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा ‘जनसत्ता’ का जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन्।

कानुनले तत्कालीन ‘जनसत्ता’को लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन्। हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु भए पनि यसलाई जिल्लाव्यापीरुपमै महत्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ। बाँफीकोट र सानीभेरी गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै ‘जनसत्ता’का लिखत ब्युँताउने निर्णय गरेका हुन्।

‘पहिलो चरणको कामअन्तर्गत लगत संकलन थालनी गरेका छौँ,’ बाँफीकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘सबैको लगत संकलन भएपछि बाँकी प्रकिया अघि बढाउँछौं।’ उनकाअनुसार गाउँपालिकाका हरेक वडा तहका प्रतिनिधिलाई यथासक्य चाँडो लगत संकलनका लागि निर्देशन दिइएको छ। प्राप्त लगतका आधारमा कस्तालाई मान्यता दिने र कस्तालाई नदिने भन्ने निर्णय हुने केसीले बताए।