यस्तो छ देउवा नेतृत्वको मन्त्रिपरिषद पहिलो बैठकको निर्णय
काठमाडौं,सरकारले संविधानको कार्यान्वयन तथा माघ ७ गतेभित्रै तीन चरणका निर्वाचनलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको पहिलो बैठकले संविधानले निर्दिष्ट गरेअनुरुप संविधान कार्यान्वयन, संक्रमणकालीन व्यवस्थापन र दोस्रो चरणको स्थानीय तहको निर्वाचन निर्धारित् मितिमै सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसैगरी, संविधानमा व्यवस्था भएअनुरुप आगामी माघ ७ गतेभित्र प्रदेश र संघको निर्वाचन सम्पन्न गर्ने निर्णयसमेत सरकारले गरेको नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार पुनःनिर्माण कार्यलाई तीव्रता दिएर प्रभावकारी बनाउने, जनतामा प्रवाहित हुने सेवालाई चुस्त बनाउने, आर्थिक विकासलाई गति दिने, शान्ति–सुरक्षा र आपूर्ति व्यवस्थापनलाई सुदृढ बनाउने र शाान्ति–प्रक्रियाका बाँकी कार्यलाई पूर्णता दिने कामलाई सरकारले प्राथमिकतामा राखेको छ । बैठकले अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रिपरिषदको प्रवक्तामा अर्थमन्त्री कार्कीलाई चयन गरेको छ ।