औंसीको रातमा, उज्यालोको गीत

एउटा जंगलमा विभिन्न जातका प्राणीहरुको बसोबास रहेछ । उनीहरुबीच अगाध प्रेम थियो । तिनीहरुको प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइ दिएछ । जंगलका सवै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गएछन । तर एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको खाल्डोबाट पानी ल्याउँदै माथिबाट पानी चुहाएर आगो निभाउने कोशिस गर्दै रहेछ । तर अरु जनावरहरुले उसलाई भनेछन– ‘हे मूर्ख चरा तेरो चुच्चोमा ल्याएको पानीले जंगलको आगो निभ्दैन, बरु तँ उल्टै जलेर मर्न बेर छैन ।’ मुखभरिको जवाफ दिँदै त्यो चराले साहसकासाथ भनेछ– ‘तिमीहरु सबै डरछेरुवा हौ, तिमीहरुलाई केवल आफ्नो प्राणको चिन्ता छ । म इतिहासमा मरेर पनि अमर रहनेछु । किनकी मैले त कोशिस गरेँ नि ।’

देशका ठूला दल काँग्रेस, एमाले र माओवादीले स्थानीय निकायमा जितेर पनि हारेका छन् । न तिनीहरु व्यक्ति फेरिए, न चरित्र फेरियो । मतदाता पनि उस्तै देखिए । फेसबुकमा क्रान्ति उराले तर भोट तिनै गाली गरिने जनमाथि खन्याए । अमेरिका जस्तो देशमा घरजग्गा कारोवारी डोनाल्ड ट्रम्प सारथी भए । छिमेकी भारतमा केजरीवाल, अन्ना हजारे, योगी आदित्यनाथजस्ता पात्र सतहमा आए । चीनमा त झन् दुई बीस हाराहारी उमेरकाहरु कार्यकारी तहमा पुगिसके ।

२१ वर्षकी रन्जु दर्शनाले अंक गणितमा हारेपनि राजनीतिमा जितेको भन्दै फुलमाला ग्रहण गर्दा परिपक्वता, राजनीति र उमेरका विद्यावारिधि बाबुराम भट्टराई पूर्वाग्रहभन्दा माथि उठेनन् । केपी ओलीलाई स्थानीय तहमा आफ्नो दल पहिलो भएकोमा खुसी लागेन बरु काँग्रेस दोस्रो कसरी भयो भनेर मनलाई मरिच बनाउने तर्फ केन्द्रित भए । शेरबहादुर देउवालाई पार्टी डुबेको भन्दा प्रचण्डपुत्रीको कल्याण नहोला भन्ने चिन्ताले खग्रास बनायो । आर्थिक लाभांसको शेयर र राजनीतिको मेयर दुवै खोज्दा नेताहरु झन्झन् नांगिदै गए । चण्डमुण्ड, हुक्के, ढोके, नन्दीभृंगीले बचाएको लाजले कति दिन धान्नु ?

डाक्टरहरु कलपूर्जा सफा गरेजस्तै गरी मानव शरीरको शल्यक्रिया गर्छन् । विभिन्न रोगको नाममा उब्जिएका ट्यूमर काटेर मिल्काउँछन् । मस्तिष्क, मुटु, फोक्सो, मृगौलाका जटिल उपचार गर्छन् । खै, तिनीहरुले मानिसभित्रको लोभ, इष्र्या, रिस, प्रतिशोध चाहिँ किन मिल्काउन नसकेका होलान ? ती वस्तु हुन्छन् चाहिँ कहाँ ? नेपालमा अब बेथितिको उपचार इतिहास हैन, शल्यक्रियाबाट खोज्नुपर्ने अवस्था आएको छ । मलेशियाको कायापलट गर्ने मुहम्मद महाथिर, सिंगापुर बनाउने लिक्वान, विहारलाई दोहोरो अंकको आर्थिक विकासमा पु¥याउने नितिशकुमार आएर हाम्रा मुखियाहरुलाई प्रवचन दिए पनि केही फरक पर्दैन् । यस्ता व्यक्तित्वसंग बसेर एकाधवटा कुम जोडेर फोटो खिच्नेभन्दा दोस्रो कर्म उनीहरुले जानेकै छैन् । हामी पछि परेको नजानेर, नबुझेर, नदेखेर नभई नियत नै खोटो भएर हो । सरकारको नीति कार्यक्रमभन्दा कपिलको कमेडीको भाउ छ । बब मार्लिनको लट्टे कपाल विक्छ । राखी सावन्तको छिल्लिएको मादक नखरा विक्छ । नेपालमा मानिसको भिजन हैन, पोर्नस्टार सन्नी लियोनको अद्र्धनग्न जवानी बिक्छ । अझ विश्वबाट काम नलाग्ने भनी मिल्काइएको माओ डक्टिन भित्तामा पुर्याइँदा पनि अझै टालाटुली बटुलीका शैलीमा तानतुन पारेर राजनीतिक भोटो सिउने प्रयास गरिन्छ । यसरी क्रान्तिका नाममा रोपिएका धतुरोबाट धानको अपेक्षा गरिन्छ ।

अनि धान नफल्दा पुर्पुरोलाई धिकार्ने काम हुन्छ । विकास बादले नभई इच्छाशक्तिले हुन्छ भन्ने नर्सरी बालकले बुझेको सत्य तिनका हजुरबा पुस्ताको मथिंगलमा पसेको छैन् । जीवनको पूर्वाद्धलाई उपेक्षा गरियो भने उत्तराद्र्धमा पुगेर बुझेको सत्य काम लाग्दैन् । भूपि शेरचनको कविताले अरुलाई मिठास दियो । तर जीवनको उत्तराद्र्धमा उनले निष्कर्ष निकाले– आफुलाई दुईवटा क ले विगारे । जसको अर्थ थियो– कविता र कम्युनिष्ट । जीवनभर नास्तिकवादमा कलम चलाउने लक्ष्मीप्रसाद देवकोटाले ब्रम्हनालमा पुगेपछि भने– ‘आखिर श्रीकृष्ण रहेछ एक ।’ विश्व राजनीतिमा निरंकुशताको सजीव पात्र संझिइने हिटलर कालिदासको साकुन्तल महाकाव्यका प्रशंसक मात्र भएनन, आर्य संस्कृतिको प्रतिरक्षा गरे । त्यसैले राजनीतिका नाममा मनमा एकथोक, बोलाई अर्को र गराई तेस्रो खाले संस्कृति नत्यागेसम्म हाम्रा लागि राजनीति सेवा हैन, धोकाको अर्को नाम हुने निश्चित छ ।

कुनै एक सैनिक युद्धमा थियो । घरबाट श्रीमतीको चिट्ठी आयो । चिट्ठीमा लेखिएको थियो–‘यस गाउँमा सभ्य र स्वस्थ मानिस नहुँदा खेतमा मैले नै हलो जोत्नु परेको छ ।’ चलाख सैनिकले जवाफ पठायो– ‘खेतमा हलो नचलाउनु , त्यहाँ विष्फोटक पदार्थ गाडिएको छ ।’ उसको पत्र सेन्सर भयो । अब के थियो र, आधुनिक औजारसहितको सैनिक टोली त्यस बाँझो खेतमा पुगेर चारैतिर खन्यो । यस कुराको जानकारी श्रीमतीले श्रीमानलाई गराइन । अर्को पत्रमा सैनिकले लेख्यो– ‘अब सवै खेतमा मजाले गहुँ छर्नू ।’

क्रान्तिका नाममा जिन्दगीभर बन्दुक र बारुदको धतुरो रोपेका प्रचण्डले साठीको सेरोफेरोमा नाघेपछि गरेको धान फलाउने रहर माथिकै सिपाहीको चलाखीभन्दा पर नदेखिने पक्का छ । सर्वहारा हैन, सर्वआहारा अनि दाँती मिलेका घर भएका धनाढ्यहरु यो पार्टीको चुल्हो चौकोमा पुगेपछि रगत र पानीको भेद अन्त्य भएको छ । धनयुद्धको राप र तापमा टिक्न नसकेर जनयुद्धका महिषीहरुको हातमा पश्चाताप शिवाय अरु केही हात लागेन । माओवादी नेतृत्वले जब शहरी नूनसंग बढी सम्झौता गर्न थाल्यो, उभित्रको रातो रंग खरानी बन्दै गयो ।
पुरुषको सफलता पछाडि महिलाको हात हुन्छ । यो सुल्टो व्याख्या भयो ।

तर उसको असफलता पछाडि महिलाको हात हुन्छ हुँदैन् ? यो पेचिलो प्रश्नको उत्तर त्यति सहज छैन् । वर्तमान मन्त्रीहरुको सम्पति विवरणमा उनीहरु सुनपति देखिनुको मनोविज्ञान पनि यसैसंग जोडिएको छ । धन त आउँछ पनि जान्छ पनि । धन गएर मानिस बिग्रदैन, तर चरित्र गयो भने मरेको मर्यै हुन्छ । विश्वका राजनेताहरुले बद्नामीबाट बच्न पारिवारिक बन्धन चुँडाल्ने हिम्मत गरेका छन् । उनीहरुले राजनीतिको अम्लेठ खान खोजे तर अण्डाको माया गरेनन् । पतिको शारीरिक कुरुपताप्रति तीब्र वितृष्णा भाव राख्ने मेरी टोड लिंकन कर्कश स्वभावकी थिइन् ।

विलासी जीवनको चाहना राख्थिन । यस विपरित अब्राहम लिंकन शान्त, सादा, सरल र विनयी थिए । कतिसम्म भने स्प्रिंग फिल्डमा रहँदा उनले लिंकनको मुखमा तातो कफी मिल्काइदिएकी थिइन । संसारको कुनै पनि मनुष्यले आफ्नाे दाम्पत्य जीवन पीडादायी र कष्टकर बनोस् भनेर चाहेको हुँदैन । समाजका सामान्य मानिसहरु मात्र होइन ख्यातीप्राप्त महामानवहरुको सोचाइ पनि यस्तै हुन्छ । तर शक्ति र सत्ताको राजकीय मर्यादाका कारण यी महान दम्पतिको पारिवारिक जीवन सदैव विषादपूर्ण रह्यो । भारतीय स्वतन्त्र संग्रामका महारथी महात्मा गान्धी श्रीमती कस्तुरबा गान्धीलाई एकसय चार ज्वरो आउँदा पनि वास्ता गर्दैनथे । विश्वविख्यात राजनेता मण्डेला जब सत्ताको सप्रभुताको सिंहासनमा बस्न पुगे दुखका दुष्कर यात्रामा साथ दिने पत्नी बिन्नीलाई त्याग नगरी धर पाएनन् ।

लोकतन्त्रको मातृभूमि मानिने बेलायती युवराज चाल्र्स र डायना परस्परमा छिन्नभिन्न हुनुपर्यो । माओत्सेतुङ व्यक्तिगत हैसियतमा अत्यन्त खर्च कम गर्थे । पुरानो कोट र खुइलिएको कमिज नफाटुन्जेल लगाउँथे । १९५८ तिर चिया र मासु महँगो ठानेर खानै छोडिदिए । तर श्रीमती बटुल्ने र सन्तान जन्माउनेमा यिनी लापर्वाह थिए । ४८ वर्षको उमेरमा २३ वर्ष कान्छी ज्वांगसंग चौथो घरजम गरे । उनको विलासी व्यवहार सम्झिनेहरु अहिले पनि नाक खुम्च्याउँछन । आफ्नो परस्त्री प्रतिको रुचिमा सुशीलाको गुनासो रहने गरेको स्वयं बीपीले उल्लेख गरेका छन् । अरु त अरु हरे किर्तनमा लागेकी श्रीमतीको व्यवहारबाट जीवनको उत्तराद्र्धमा देशको मन्त्री भइसकेका लक्ष्मीप्रसाद देवकोटा आजित थिए । त्यसबेलाका धर्मगुरु कविप्रसाद गौतममाथि धर्मको आडमा समाज भाँडेको आरोप थियो । धर्म आवरणमा उनी महिलालाई जुठो ख्वाउने, खुट्टा ढोगाउने, खुट्टाको धुन लगाए पानी ख्वाउनेजस्ता काम गर्थे ।

एकातिर रोगी देवकोटा उपचार खर्च नपाएर थलिएका थिए भने अर्का्तिर देवकोटा पत्नी मनदेवीमा यस्तो धार्मिक भूत चढेको थियो कि उनी लोग्नेको आँखा छलेर दहीको कतारोभित्र चाँदीको मोहोर लुकाएर गुरु पोस्ने गर्थिन् । समाजमा अपराध बढेपछि गेरुवस्त्रधारीहरुको व्यापार पनि स्वतः बढ्छ । समय फेरियो, पात्र फेरियो तर शैली र प्रवृत्ति अहिले पनि उस्तै छ । जताततै कर्मवादीभन्दा भाग्यवादीहरुको उपस्थिति सघन बन्दै गएको छ ।

बुद्ध, एरिस्टोटल प्लेटो कसैको बाद थिएन, समूह थिएन, झण्डा थिएन । तर विचारका लागि सधैं सधैं बाँचेका छन् । पूज्य छन । धृतराष्ट्रले दुर्योधनको दुर्गुण, अहंकार र स्वार्थबारे पूर्ण जानकारी राख्दा राख्दै पनि मोह त्याग्न नसक्दा महाभारतको युद्ध भई सुखद सपना दुखद घटनामा अवसान भयो । महाभारत सकिएपनि आखिर आँसुको कथा सकिएन् । पाण्डवहरु जितेर पनि हारे । राजनीतिमा नैतिक बल गुमेपछि नेताको अवस्था भनेको रोबर्ट मान्छेको बचाई मात्र हो । सर्वहाराको शासन, गरिबको सत्ता, जनवाद यी सवै पण्डित र धामीका मन्त्रजस्तै हुन् । गुजुल्टिएको चाउचाउ सिधा होला तर यी शब्दको अर्थ बुझ्न कठिन छ । हरेक शास्त्र हुने र नहुने बीचको लडाईंमा केन्द्रित छ । हुनेले नहुनेलाई थोरै मात्र मन फुकाएर दिने हो भने समस्याको गाँठो आफै फुक्छ ।

तर यही रसायन नमिलेकै कारण महाभारतका श्रृंखला कहिल्यै सकिएनन् । यदि संसारमा सर्वहाराको राज्य हुन्छ भने नेपालका कम्युनिष्टहरुले आदर्श नेता परिवर्तन गरी दिगम्बर रुपधारी महादेवलाई स्थापित गर्नुपर्छ । फगतः खरानी र बाघको छालामा रमाएका महादेवजस्ता विन्दास पात्र शायदै राजनीतिमा पाइएलान । सधैंका मस्तराम महादेवको परिवार पार्वतीको भरोसामा चलेको थियो । उनीहरुको परिवारभित्रको अन्र्तद्वन्द्व कुनै पनि भौतिकवादी, माक्र्सवादी चिन्तनभन्दा लाखौं गुना बढी चाखलाग्दो थियो । पिताको बाहन सर्पबाट मुसो बचाउन गणेशले गर्नुपर्ने भगीरथ प्रयास, अनि कुमारको मयूरबाट सर्प बचाउन पिता महादेवलाई पर्ने धौधौ थोरै सास्तीपूर्ण थियो होला र ? आत्मरक्षाको द्वन्द्वमा फसेको परिवारको डुंगा पार्वतीको बुद्धिमतापूर्ण व्यवहार र महानताका कारण चलेको थियो । सम्भवतः राजनीतिमा पनि यस्तै त्राण दिने व्यक्तित्वको खाँचो छ ।

आँपको बोटमा महत्वपूर्ण आँपै हो तर आँप फल्न हाँगाविंगा जरा सब चाहिएजस्तै राजनीतिका अंगलाई ध्वस्त पारेर निर्माणको भाषण गर्नु भनेको बनबास जानुअघि बन मास्नुजस्तै हो । व्यक्ति असफल हुन्छ, राजनीति असफल हुँदैन् । नेता खोटो मोहोर हुनसक्छ, विचार खोटो हुँदैन् । राम्रो विचार र सुन जति पुरानो भयो, उति चहकिलो हुन्छ । मानिसको लामो यात्रा ठूलो पहाडले होइन, जुत्तामा अड्किएको सानो ढुंगाले छेक्छ । समुद्रमा कति पानी छ भनेर तर्क कुतर्क गर्नुको अर्थै छैन नि ।

बरु तपाईंको लोटीमा कति पानी अटाउँछ ? त्यो पो मुख्य सवाल हो । काठमाडौका केही पात्र यति पुलपुलिएका र पाखण्डी छन् कि डाक्टरले भनिदिने हो भने तिनीहरु पानीसमेत साबुनले धोएर खान बेर लगाउँदैनन् । औंसीको रातमा उज्यालोको गीत गाउनु ती चिल्ला सुकिलाहरुको दिनचर्या हो । रगत चुस्न आउने लामखुट्टे त टाढैबाट टिं…..गर्दै थाहा दिएर आउंछ भने दुष्ट आत्मा भएका मान्छेहरुले पनि आफु बस्ने घर कालो रंगले पोतिदिए कमसेकम असल मानिसहरुले गोता खानु पर्दैनथ्यो कि ? तर यस्तै मान्छेहरु बाघ, भालु नलाग्ने शहरमा आफ्नो घरलाई कोक्रोजस्तो छेकेर बस्छन् । अनि आफुलाई नौनी डल्लो ठान्छन् । समाज नामको चीजले पनि प्याच्चै भनिदिन्छ– वाह, कमाल होस् त त्यस्तो । 

[email protected]