मिल्यो त मन्त्रालयको भागबण्डा !

काठमाडौं ,भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर उम्मेदवारी दर्ता गराएकासँगै सरकारमा सहभागी दलहरुले कुन कुन मन्त्रालय लिने भन्ने पनि टुंगो लागेको छ । सरकार गठन र मन्त्रालय भागबण्डा मिलाउन अनौपचारिक तहमा गठित कार्यदलले तत्काल सकारमै रहेका दलहरुलाई साथमा लिएर सरकार गठन गर्नेगरी मन्त्रालय भागबण्डाको गरेको हो ।

सरकार गठन र मन्त्रालयको भागबण्डा मिलाउन देउवाले कांग्रेस नेताहरु बिमलेन्द्र निधि, रमेश लेखकलाई र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी नेताहरु कृष्णबहादुर महरा र बर्षमान पुनलाई जिम्मेबारी दिएका छन् । वर्तमान गठबन्धनमा मुख्य सुत्रधार मध्येका यी सदस्यले कांग्रेस र माओवादी केन्द्रबीच मन्त्रालय भागबण्डामा करिब समझदारी जुटाएको बताइएको छ ।

शक्ति र प्रभावको हिसाबले अब्बल मानिने गृह, अर्थ, सूचना तथा संचार, भौतिक योजना तथा पूर्वाधार, स्थानीय विकास, परराष्ट्र र उर्जा मन्त्रालयमा भागबण्डा करिब टुंगाईएको माओवादीका एक नेताले बताए । उनका अनुसार गृह र अर्थ मन्त्रालय कांग्रेस र माओवादीबीच साटिने भएको छ । प्रचण्ड दाहाल नेतृत्वको सरकारमा कांग्रेसले लिएको गृह मन्त्रालय देउवा नेतृत्वमा माओवादीले लिने भएको छ । माओवादीले लिएको अर्थ मन्त्रालय कांग्रेसले सम्हाल्ने सहमति जुटेको छ ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक र अन्य साना दलले भने हाल सम्हालेकै मन्त्रालय पाउने सहमति जुटेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेकोमा असन्तुष्टी जनाउँदै राप्रपाले सरकार छाडेपछि गच्छदार सरकारमा आएका थिए । कांग्रेस र माओवादीले लिएका मन्त्रालय पनि केहीबाहेक अधिकांश साट्ने तयारी छ । हाल कांग्रेसले सम्हालेका माओवादीलाई र माओवादीले सम्हालेकामा कांग्रेसलाई दिनेगरी मन्त्रालय भागबण्डा मिलाउने प्रयास भइरहेको बताइएको छ ।

हाल सरकारमै रहेको दलको मात्रै समर्थनले पनि देउवा सहजै प्रधानमन्त्री चयन हुने छन् । तर, मधेस केन्द्रित दलले उठाएको संविधान संशोधनको विधेयकलाई पारित गर्नुपर्ने दायित्व भएकाले उनले दुई तिहाई मतको समर्थन लिने प्रयास गरेका छन्।

भोली हुने प्रधानमन्त्रीको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, नेकपा संयुक्त, अखण्ड नेपाल, समाजवादी पार्टी सरकारमा छन्। यी दल मात्रैले प्रधानमन्त्री निर्वाचित हुन आवश्यक पर्ने संख्या २ सय ९७ भन्दा बढी छ । संसदमा कायम रहेको ५ सय ९३ सदस्यमा दुई तिहाई र्पुयाउन ३ सय ९६ मत आवश्यक हुन्छ । निर्वाचनमा राजपा, संघीय समाजवादी फोरम र राप्रपाले प्रधानमन्त्री चयनमा देउवालाई समर्थन गर्ने तयारी गरेका छन् ।