कस्को पोल्टामा पर्ला गृह र अर्थ मन्त्रालय ?

काठमाडौं, शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि अनौपचारिक कसरत सुरु गरे लगत्तै गृहमन्त्रालय र अर्थमन्त्रालयका लागि लफडा सुरु भएको छ । सरकारको नेतृत्व काँग्रेसले गर्दा गृहमन्त्रालय माओवादीको भागमा पर्ने छ । माओवादीभित्र गृहमन्त्रीका लागि जनार्दन शर्माको नाम चर्चामा छ । उर्जा मन्त्रालयको सफल कार्यसम्पादन पछि शर्माको नाम पार्टी कार्यकर्ताबाटै चर्चामा आएको हो ।

विवादरहित अवस्थामा गृहमन्त्रालय जनार्दन शर्माले सम्हाल्न सक्ने छन् । तर शर्माको महत्वाकाँक्षालाई ब्रेक गर्न टोपबहादुर रायमाझीेले लफडा गर्ने तयारी गरेको माओवादीकेन्द्र निकट सुत्रले जनाएको छ । शर्मा र रायमाझी बीचको लफडा हुँदा गृहमन्त्रालय फेरि घुम्दै फिर्दै आफ्नो भागमा आइपर्छकी भन्ने मनशायमा नेता शक्ती बहादुर बस्नेत पनि छन् ।

नयाँ सरकारको गठन अघि आफ्नो कार्यकालमा आर्थिक वृद्धिदर अनपेक्षित वढेको प्रचार महराले सहयोगी मार्फत गर्न लगाएका छन् । एकपटक फेरि गृह पड्काउने चाहाना बस्नेतकाे छ । कार्यकर्ताको तिब्र दबाव गृहमन्त्रालयमा जनार्दन शर्मा प्रभाकरकै लागि छ । यद्यपि प्रभाकरलाई गृहमन्त्री दिन अध्यक्ष पुष्पकमल दाहाल,नेता कृष्णबहादुर महरा र बर्षमान पुन सकरात्मक हुन नसकेको स्रोतको दावी छ ।

यस्ताे छ काँग्रेसमा रडाकाे 

उता नेपाली काँग्रेसमा अर्थमन्त्रालयको जिम्मा कसले लिने भन्ने विषयमा अघोषित संघर्ष सुरु भइसकेको छ । डा. रामशरण महत काँग्रेसका सदाबहार अर्थमन्त्री हुन् । उनी यसपटक पनि अर्थमन्त्रालय आफुले पाउनुपर्ने लविङमा छन् । महतका भाई डा प्रकाशशरण महत पनि अर्थमन्त्रालयको पर्खाइमा छन् । अर्थमा दावी गरे परराष्ट्रमन्त्रालयमा दोहोरिन पाइने संभावनाका लागि उनले पनि अर्थमै केहि समय अडान लिने सोच बनाएको देउवा निकट स्रोतको दावी छ ।

अर्थमन्त्रालय आफुले पाउनुपर्छ भन्ने लविङमा यसपटक अर्का डक्टर नारायण खड्का पनि कस्सिएका छन् । उनका बारेमा संभवतः नेता खुमबहादुर खड्काले अडान लिनसक्ने आँकलन गरिएको छ । अर्थमन्त्रालयका लागि यसपटक नेता एन.पि. साउँदको नाम पनि चर्चामा छ । देउवाका विश्वासपात्र मानिने एन.पि. साउँदलाई नै अर्थमन्त्रालयको जिम्मेवारी दिइने संभावना बारे पनि काँग्रेसभित्र अड्कलबाजी भइरहेका छन् ।

धेरै काँग्रेसीहरुको बुझाइमा रमेश लेखक वा एन पि साउँद मध्य एकजनालाई देउवाले अर्थमन्त्रालयको जिम्मेवारी दिन सक्छन् । गएका धेरै सरकारमा अर्थशास्त्र नपढेका मन्त्रीहरुले पनि राम्रै परिणाम ल्याएकाले काँग्रेस भित्र पनि यसपटक डाक्टर रामशरण महत बाहेक विषय भन्दा वाहिरबाट पनि अर्थमन्त्री बनाउने कसरत भएको वताइएको छ ।

यस्ता छन माअाेवादी केन्द्रबाट मन्त्री बन्ने ध्याउन्नमा

 अब बन्ने मन्त्रिपरिषदमा नयाँ अनुहार पर्लान् वा पुरानै दोहोरिएलान् भन्ने विषयमा धेरैको चासो छ। माओवादीका तर्फबाट सरकारमा कसले नेतृत्व गरेर जाने भन्ने बारेमा अझै टुंगो लागिनसकेको उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले बताए। उनले भने, ‘प्रधानमन्त्री छान्ने प्रक्रिया सकिएपछि मात्र पार्टीको तर्फबाट को सरकारमा जाने र कुनकुन मन्त्रालय लिने भन्नेबारेमा छलफल हुनेछ।’

नयाँ मन्त्रिपरिषदमा पार्टीको तर्फबाट कसलाई पठाउने भन्नेबारे अहिलेसम्म कुनै छलफल नभएको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्। यो विषयमा छलफल गर्न प्रधानमन्त्री छान्ने प्रक्रियापछि मात्र पार्टीको बैठक बस्ने उनले बताइन्। नयाँ प्रधानमन्त्री चयन प्रक्रियापछि पार्टीको तर्फबाट मन्त्रिपरिषदमा नेतृत्व गर्दै एक जना उपप्रधानमन्त्री पठाउने भन्नेबारे अध्यक्ष प्रचण्डसँग सामान्य छलफल भए पनि कसलाई पठाउने भन्नेचाहिँ प्रवक्ता भुसालले खुलाउन चाहिनन्।

 प्रचण्डका विश्वासपात्र रहेका नेता कृष्णबहादुर महरा नै माओवादी केन्द्रका तर्फबाट मन्त्रीहरूको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना प्रबल रहेको एक हेडक्वाटर सदस्यले  जानकारी दिए। ऊर्जामन्त्री जनार्दन शर्मा पनि नयाँ मन्त्रिपरिषदमा दोहोरिने संभावना पनि उत्तिकै रहेको उनले बताए। प्रचण्ड सरकारमा ऊर्जामन्त्री रहेका जर्नादन शर्माले उपत्यकालगायत नेपालभर लोडसेडिङ अन्त्यका लागि उल्लेख्य काम गरेको हुनाले जनतामा पनि उनको छवि राम्रो बनेको हुँदा उनलाई दोहोर्‍याउनुपर्छ भन्ने चर्चा माओवादी वृत्तमा चलेको छ। त्यस्तै, नेताहरू गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, हरिबोल गजुरेललगायतका नेताको नाम अब बन्ने मन्त्रिपरिषदको संभावित सदस्यको रूपमा चर्चामा छ।

सल्यानका टेकबहादुर बस्नेत अब बन्ने मन्त्री मण्डलमा जाने पक्कापक्की जस्तै भएको स्रोतले बतायो। बस्नेत अहिले माअोवादी संसदीय दलका प्रमुख सचेतक हुन्। माओवादीभित्र मधेसको प्रतिनिधित्व गर्ने नेता प्रभु शाह, मोरङका शिवकुमार मण्डल, रामेछापका श्यामकुमार श्रेष्ठ, कालिकोटका महेन्द्रबहादुर शाही पनि मन्त्री बन्न सक्ने चर्चा माओवादीभित्र छ।