ब्यालेटको आस, बुलेटको त्रास

बीपी कोइराला पत्नी सुशीलासाथ भारतबाट रेलमा फर्कदै थिए । मुसलधारे पानी दर्किएको थियो । लुगाको धरोका नाममा एउटा कट्टु मात्र लगाएको ७, ८ वर्षको बालक उनीहरुको डिब्बामा प्रवेश गर्यो । उ मुसो भैंमा लुथ्रुक्क भिजेको थियो । अपरिचित बालक विदेशी भूमिमा त्यसरी प्रकट भएको देखेपछि बीपी दम्पति सचेत भए । पहिले त यात्रु लुट्न बालक प्रयोग गरिएको हुन सक्ने ठानेर उनीहरु सतर्क भए । केहीबेर बुढाबुढी मुखामुख गरे । त्यो केटो थर्रर्रर काँपिरहेको थियो । बीपी दम्पति न त्यो केटालाई प्रेम दर्शाउन सक्थे न नजरबाट उसलाई अदृश्य बनाउन नै । तर अपरिचित बालकको आशामुखी नजर बीपी दम्पतिमाथि परिरह्यो ।

यो दृश्यले सुशीलाको बात्सल्य उम्लेर आयो र त्यो बच्चालाई आफु नजिक बोलाइन् । खानेकुरा दिइन् । न्यानो लुगाले शरीर ढाकिदिइन् । त्यो फकिर केटाको न जाने गन्तव्य थियो, न कुनै परिचय नै । बीपीले त्यो बालकलाई सोधे– ‘म संग जान्छौ ?’ उसले पहिलो सोधाइमै स्वीकृतिको मुन्टो हल्लायो । त्यो केटो विराटनगरको कोइराला निवासमा प्रवेश गर्यो । उमेरले तारिणीप्रसाद कोइरालाको समवयी त्यो बालकले घरमा सहोदर भाइकै दर्जा पायो । त्यहीँ हुक्र्यो, त्यहीँ बढ्यो । राजनीतिक क्रान्तिका हरेक मोडमा झण्डा बोक्यो । स्वदेशमा होस या प्रवासमा बीपीको असली भाइ बनेर घर र राजनीतिको मोर्चा सम्हाल्यो । साहित्यमा कलम चलायो । भारतमा नामी लेखकको ख्याती पायो । बीपीका अधिकांश कृति हिन्दीमा अनुवाद गर्यो । जसको नाम थियो– फणिश्वरनाथ रेणु ।

नेता कस्तो हुनुपर्छ ? त्यसको सपाट उत्तर संसारको कुनै पनि विधि तथा शास्त्रले दिन नसक्ला । तर व्यक्तित्वको निर्माण हुन उ भित्रको मानव धर्मको दीयो कहिल्यै निभ्नु हुन्न भन्नेमा दुइमत छैन् । संसारमा कसैले नयाँ गर्ने होइन् । नयाँ माटो आविष्कार गर्ने होइन् । भगवान शिवको आराधना गरेर हिमालय पर्वतबाट हिमचट्टान फोरेर पानी झार्ने होइन् । अझ पानी त त्यस्तो चीज हो, जुन एक थोपो पनि कसैले बनाउन सक्दैन । यो त रिचार्ज हुने मात्र हो । हिन्दी फिल्मको हिरो भैंमा असम्भव पुरुषार्थ देखाउने होइन् । काम गर्नु भनेको इमान्दारीको संस्थागत विकास हो ।

राज्य सञ्चालन प्रक्रियामा जनतालाई कम गुनासोको अवसर दिनु हो । दुख कहिले पो थिएन ? चोरी, हत्या, बलात्कार, दुराचार, पापाचारका घटना भर्खर शुरु भएका हुन् र ? होइन, मानव प्रयास यस्ता कुकृत्य न्यून बनाउने तर्फ केन्द्रित हुनुपर्छ । गाई परापूर्व कालदेखिनै घाँस खान्थ्यो । बाघ अहिले आएर मांसहारी भएको होइन् । लामखुट्टे, उडुस, उपियाँलाई मान्छेले तालिम दिएर रगत चुसेर भाग्न सिकाएको होइन् । मान्छेले बाँदरलाई भन्ने त्यही चकचके स्वभावका कारण प्राकृतिक चक्र चलेको छ । जहाँ बाँदरले चाहिने भन्दा बढी तुलपूmल झार्छ , त्यो खान मृग हाजिर हुन्छ । जहाँ मृग आफ्नो पेट भर्न आउँछ, तब उ पत्तै नपाई चितुवाको आहार भइसकेको हुन्छ । हात्ती स्वभावतः भीमकाय हुन्छ । उ हिँड्दा मात्रै लाखौं साना जीवनजन्तु मरिरहेका हुन्छन् । अब कमिला, पानीमुनिका माछा, गँड्यौलाको नास हुन्छ भनेर हात्तीले दैनिकी ठप्प गर्यो भने के हुन्छ ?

पानी नपरेर जेठ निस्सार भएपनि यतिबेला दलहरुको हिलो छ्यापाछ्याप र चाकाचुली हेर्न लायक छ । एउटा चुनावी पात्रो बनाउने हो भने नेपाल संसारको त्यस्तो मुलुक हुनेछ, जहाँ वर्षका ३६५ दिन कसै न कसैको चुनाव भएकै हुन्छ । तर दुर्भाग्य त्यो चुनाव पद्दति, विधि र देश विकासका लागि नभएर शासक जन्माउन हुने गरेको छ । एउटा सामान्य संस्थाको सदस्य चुन्न गरिने चुनावमा पनि लाखौंको सौदावाजी देखिन्छ । बाक्लै हुने चुनाव र पैसाको भल बगाउनुपर्ने अघोषित मान्यता स्थापित हुँदै जाँदा करोडौं, अरबौंको यो अदृश्य अंकले देशको अर्थतन्त्रमा कस्तो दुष्परिणाम ल्याउँछ ? संस्थाका नाममा चुनाव लड्ने, संस्था धराशायी बन्दै जाने तर चुनिने व्यक्तिको आर्थिक श्रीबृद्धि हुने यो कस्तो प्रजातान्त्रिक पद्दति हो ? जुनसुकै तह र तप्काका उम्मेद्वारलाई सहयोग गर्ने दाताको खाँचो छैन् । ईमान र पसिनामा बाँच्नेले कसैलाई चन्दा दिन सक्दैन् ।

अपराधीले कसैमाथि लगानी किन गर्छ ? उत्तर खुल्ला कितावजस्तै छ । सेना, प्रहरी, न्याय, कर्मचारीको सरुवा बढुवामा पैसामार्पmत हुने स्वस्ति शान्तिको त हिसाव किताव नै छैन । त्यो त झन् अविराम चल्ने चुनाव हो । त्यहाँभित्रका यस्ता गतिविधि बरु माछाले पानी खाएको देखिएला तर कर्मचारीले कर्मचारीबाट छिनेको दृश्य नै अदृश्य छ । जुनियर डग र सिनियर गडको लक्ष्मणरेखालाई जुनसुकै परिवर्तनले पनि छुट्याउने छाँटकाँट देखिदैन् । राजनीतिमा भित्रिएको वर्णशंकर खेतीले कर्मचारीतन्त्रमा चिनेको हुँदै अब किनेको चाहिँ पक्का दरिँदै गएको छ । चुनावका नाममा हुने लाठेरोपाइँले लुट, झुट र फुटलाई प्रश्रय दिँदै आएको छ । वर्षेनी दर्जनौं चुनाव हुन्छन् । चुनाव लोकतान्त्रिक व्यवस्थाको सामान्य प्रक्रिया हो । तर यो कुनै पर्वभन्दा कम हुँदैन ।

भनिन्छ– नयाँ पात पुरानो पातसंग झर्न बनेको हुँदैन् । तर नेपालको राजनीतिको हाँगामा सुकेको पात झर्न नमान्दा नयाँ मुनाहरु असमयमै ओइल्याएका छन् । टुक्रिएको माओवादीको अध्यक्ष वैद्यले नै पदवी छोडेनन् । अरु दुईचार कार्यकालका लागि प्रचण्डले बैना मार्दै आएका छन् । पहिला पहिलाका राजा, महाराजा र राजनेताहरुमा प्रताप हुन्थ्यो । त्यसैले तिनीहरु प्रतापी कहलाउँथे । प्रताप भनेको नाममा जोडिएको फुँदाे नभएर नैतिकताको अर्को नाम हो । हाम्रा नेताहरु महाराज यायातिजस्ता भएका छन् , जसले काम वासनामा तृप्त नभएपछि कान्छो छोरा पुरुको जवानी पैंचो लिएका थिए । कालान्तरमा ती राजा काम वासनाबाट थकित भए तर किमार्थ तृप्त भएनन् ।

अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई सधैं नालायक देख्छ रे ! तर सत्य चाहिँ के हो भने नयाँ पुस्ता जतिसुकै नाकाम भएपनि समय चाहिँ उसैको हो । मानिसको बुढ्यौली लागेपछि उ संग रहेको वस्तु भनेको फगतः अनुभव र अनुभूति मात्र हो । मानिसका जीवनमा दुख सुख त सिक्काको गाई र त्रिशुल हो । थालको भात दुख हो भने अचार सुख हो । कोही त्यही अचारको भरमा भात मिठो मानेर बुत्याउँछन् त कोही अचार रित्याएर भातरुपी दुखको पसल खोलेर बस्छन् । सुख र दुखको प्रारब्ध दृष्टिकोणबाट शुरु हुन्छ । मृत्युका अगाडि आफु मात्र एक्लो ठिंग उभिन्छु भन्ने सोच नै दुखको खाडल खन्ने औजार हो ।

दुई पूर्व अमेरिकी राष्ट्रपति जर्ज बुस र बिल क्लिन्टन केही वर्षअघि आएको सुनामी पीडितलाई सहयोग जुटाउन इण्डोनेशिया पुगे । घटनाले जर्जर बनाएको गाउँ पुगेका उनीहरुलाई आयोजकले छुट्टाछुट्टै बस्ने ठाउँको व्यवस्था मिलाउन सकेनन् । संयोगले उनीहरुको बास एकै ठाउँ मात्र हैन, एउटै कोठामा तय भयो । त्यो कोठामा खाट पनि एउटा मात्र रहेछ । अब खाटमा को सुत्ने ? दुई पूर्व राष्ट्रपतिहरुले एकले अर्कोलाई खाटमा सुत्न आग्रह गरे । क्लिन्टनको तर्क थियो– तपाईं मेरो अग्रज व्यक्तित्व हुनुहुन्छ । तपाईं खाटमा सुत्नुपर्छ । बुस भन्दा रहेछन– तपाईं विश्वमै अत्यन्त लोकप्रिय हुनुहुन्छ । तपाईंको मर्यादाले भुईंमा सुत्न सुहाउँदैन । अन्ततः क्लिन्टनले लाख प्रयास गरेर बुसलाई खाटमा सुताए छन् ।

एउटै कोठाको सहवासका कारण यी दुई महारथीबीच स्वभावतः अन्तरंग कुराकानी भए । भोलिपल्ट बुसले सार्वजनिक रुपमै दिल खोलेरै भनिदिए– ‘क्लिन्टन यस्ता असल छन् भन्ने थाहा पाएको भए म यी संग कहिल्यै चुनावी प्रतिस्पर्धा नै गर्ने थिइँन ।’ अमेरिकी राष्ट्रपतिसंग नारिएर फोटो खिच्न रौसिने हाम्रा प्रधानमन्त्रीहरुले त्यहाँका राष्ट्रपतिको साख ह्वाईट हाउसमा नभएर नैतिकतामा छ भन्ने सत्य किन बिर्सन्छन् ? पैसाको महत्व बुझाउन आफ्ना साना नानीलाई जागिर खोजेका अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामा स्वयं आइसक्रिम पार्लरमा काम गर्थे । तर सानो हैसियत पाएका हाम्रो देशका ठूला मान्छेहरु आफ्ना सन्तानलाई भाँडा मोल्न ओबामा देश पठाउँदा छातीको आयतन बढेको सम्झन्छन् ।

प्रकृतिमा मान्छेभन्दा अगाडि जन्मिएको प्राणी साङ्लो हो । जुन प्राणी चार अरब वर्षअघि पृथ्वीमा आएको विश्वास गरिन्छ । यो जति पुरानो छ यसले बोकेको सत्य उति घतलाग्दो छ । तपाईं पत्याउनुहुन्छ ? साङ्लो एकमात्र त्यस्तो प्राणी हो, जसको रगत सेतो हुन्छ । परीक्षण त भएको छैन तर जति परिपक्व हुँदै गयो, उति असहिष्णु हुने हाम्रा नेताहरुमा बढ्दो चरित्र कतै सेतो रगतको करामत त हैन ?

[email protected]