जथाभावी बाटो काट्दै हुनुहुन्छ ? होसियार ! प्रहरी कारबाहीमा परिएला

काठमाडौं ,के तपाई सडक पेटीमा हिडिरहँदा जथाभावी बाटो काट्दै हुनुहुन्छ। होसियार ! त्‍यसो हो भने तपाईले दुई सय रुपैया जरिवाना तिर्नुपर्ला। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि सडकमा जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय रुपैया जरिवाना लिन थालेको छ।बढ्दो सडक दुर्घटना र जोखिममा पैदलयात्री नै हुने गरेपछि ‘पैदलयात्रु सुरक्षा अभियान’ अन्तर्गत ट्राफिक प्रहरी महाशाखाले यस्तो कारबाही गर्न लागेको ट्राफिक महाशाखाका प्रमुख डिआइजी मिङमा लामाले बताए ।

लामाकाअनुसार अनुसार वर्षेनी सडक दुर्घटनामा ४२ प्रतिशत पैदलयात्रीको मृत्यु हुँदै आएको रिपोर्ट छ। गत वर्ष एक सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसमध्ये ६९ जना पैदलयात्रीको मृत्यु भएको थियो। लामाका अनुसार दुर्घटना प्रतिशत हेर्दा दुई पांग्रे सवारी साधन (मोटरसाइकल÷स्कुटर) मा चढ्ने ४४ प्रतिशतको मृत्यु हुँदै आएको छ।

पैसै नबोकेकालाई के कारबाही गर्नुहुन्छ? भन्ने प्रश्नमा लामा भन्नुहुन्छ,‘ पैसै नबोकेकालाई तीन-तीन घण्टा नियन्त्रणमा लिएर आधा घण्टा प्रशिक्षण दिन्छौं।’ लामाले फुटपाथ, जेब्राक्रस र आकाशेपूलबाट बाटो काटेमा पैदलयात्रु आफैं सुरक्षित रहने बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ ले विपरित कार्य गर्ने पैदलयात्रु उपर दुई सय देखि हजार रुपैंयासम्म जरिवाना गर्ने उल्लेख गरेको छ । यो अधिकार विभागसँग २०४९ देखि भएपनि कार्यान्वयनमा आएको थिएन। गत वैशाख १३ गते मात्रै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेपछि महाशाखाले कारबाही सुरु गरेको थियो।