प्रचण्डकाे राजीनामामा देउवाकाे धन्यवाद

काठमाडौं ,कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद दिएका छन्। प्रधानमन्त्रीले राजीनामा दिएलगत्तै विज्ञप्ति जारी गरी सभापति देउवाले सरकार गठन हुँदाका उद्देश्य सफल रुपमा हासिल गर्न सकेकोमा बधाई दिए।

‘सरकारले संविधानको स्वीकार्यता, विस्तार र कार्यान्वयनका लागि सह्रानीय काम गरेको छ। यस अवधिमा देशमा शान्ति, स्थिरता कायम भई विकास निर्माण र आर्थिक गतिविधि सुचारु भएका हुँदा आर्थिक वृद्धिदर उल्लेख्य रुपमा वृद्धि भई महत्वपूर्ण उपलब्धी प्राप्त भएको छ,’ देउवाले विज्ञप्तिमा भनेका छन्, ‘यस ऐतिहासिक सफलताका लागि प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यको उच्च प्रशंशा गर्दै उहाँलाई हार्दिक बधाई दिन चाहन्छु।’

देउवाले उपलब्धीका लागि सहयोग गर्ने सबै राजनीतिक दल र सबै नेपालीमा धन्यवाद समेत ज्ञापन गरेका छन्। देउवाले कांग्रेससँगको सहमति पालनाका लागि धन्यवाद समेत दिएका छन्।

‘नेपाली कांग्रेस र नेकपा माओवादी (केन्द्र) बीच भएको सहमति अनुरुप सरकारको नेतृत्व परिवर्तन गर्न प्रधानमन्त्रीले आफ्नो पदबाट राजीनामा गर्नु भएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु,’ देउवाले भनेका छन्, ‘सरकार परिवर्तनको प्रक्रियाले स्थानीय तहको दोस्रो चरणको निर्वाचन प्रभावित नहुने र समयमै निर्वाचन हुने कुरामा सबैलाई ढुक्क हुन आग्रह गर्दछु।’

उनले कांग्रेस र माओवादी (केन्द्र)बीच भएको राजनीतिक सहमति अनुरुपको सहकार्य भविष्यमा समेत निरन्तर जारी रहने विश्वास व्यक्त गर्दै कांग्रेसले सबै राजनीतिक दलहरुसँग गरेका सहमति दृढतापूर्वक कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।