‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ’ -ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारकाक्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार राजधानीमा लोकार्पण गर्दै अध्यक्ष ओलीले कानुनी राज्य पालना गर्न सरकार गम्भीर नहुनुले यस्ता कामले स्वच्छ र धाँधलीरहित निर्वाचन हुनेमा आशंका पैदा भएको बताए ।

निर्वाचन आयोगलाई निरीह नभइ कानुनसम्मतरुपमा प्रस्तुत् हुन पनि अध्यक्ष ओलीले आग्रह गरे । ‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ । हिंसा, धाँधली, अनियमितता र बेथितिका काम भइरहेको छ’–अध्यक्ष ओलीले भने–‘हामी शान्ति र लोकतन्त्रका बाटोबाट अघि बढ्न चाहन्छौं, यसलाई कमजोरी नठानियोस् ।’

उनले ‘कुनैपनि झुट र असत्य सामग्रीलाई एमालेले प्रचार गरिरहनु नपर्ने’ बताउँदै ‘आफूहरुले रेलको कुरा गर्दा खेलौना रेल ल्याएर तमासा देखाएको तर अहिले सबै पार्टीका घोषणापत्र र भाषणमा त्यही रेललाई अपरिहार्य आवश्यकता मानिएको’ उल्लेख गर्दै ‘देशको एकता र समृद्धिका लागि एमाले आवश्यक छ’–भने ।

अध्यक्ष ओलीले ‘घुँडा टेकेर होइन, पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न पार्टी सक्षम भएको’ उल्लेख गरे ।