आइपीएल क्रिकेटकमा पञ्जाव विजयी,

प्लेअफमा पुग्ने संभावना बलियो

काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ ।


मोहालीमा भएको खेलमा पञ्जावले कोलकातालाई १४ रनले हराउँदै शीर्ष चारमा रहेर प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको हो ।१ सय ६८ रनको लक्ष्य पछ्याएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन मात्रै बनाउन सक्यो ।

उसका लागि क्रिस लिनले ८४ तथा सुनिल नरिन र मनिष पाण्डेयले समान १८ रन बनाएका थिए । पञ्जावका मोहित शर्मा र राहुल तेवातियाले दुई–दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जावले ६ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

उसका लागि ग्लेन म्याक्सवेलले ४४, ऋद्धिमन शाहले ३८ तथा मनन बोहराले २५ रन बनाए । कोलकाताका क्रिस वोक्स र कुलदीप यादवले दुई–दुई विकेट लिए ।

दुई खेल बाँकी हुँदा पाँचौं स्थानमा रहेको पञ्जावको १२ अंक भएको छ । उ चौथो स्थानको हैदरावाद भन्दा तीन अंकले पछि छ । दोस्रो स्थानको कोलकाताको १६ अंक छ । १८ अंकसहित तालिकाको शीर्ष स्थानमा भने मुम्बई इन्डियन्स रहेको छ ।