मिडीया र पत्रकारमाथीकाे ज्यादती बन्द गर्न पत्रकार महासंघकाे अपिल

काठमाडौं,नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विभिन्न बाहानमा ज्यादती थोपर्ने र धम्की दिने पक्षलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि ज्यादती मच्चाउने पक्षलाई कारवाहीको माग गरेका हुन् ।

विज्ञप्तिमा समाचारका विषयलाई लिएर राज्यले केहि दिनयता पत्रकार र संचार माध्यमहरुमाथि गरेको हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघको गंभिर ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार माहासंघ निर्वाचनको घडीमा पत्रकारले आचारसंहितालाई पालना गर्ने र पत्रकारिताको मर्यादाअनुरुप व्यवसायिक दायित्व निर्वाह गर्न अवरोध नगर्न सम्बद्ध पक्षलाई गम्भिर ध्यानकर्षण गराउँछ’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैशाख ११ गते ललितपुरमा फोटो पत्रकार अजय देसारमाथि भएको आक्रमणका दोषीलाई राज्यले नियन्त्रणमा लिन नसकेकोप्रति महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघ पर्वत शाखाका पूर्वउपअध्यक्ष गोपाल जीसीलाई वैशाख २१ गते पक्राउ गरेकोप्रति महासंघले आपत्ति जनाएको छ ।

त्यसैगरी रोल्पाका पत्रकार तथा महासंघ प्रदेश पार्षद पुष्टमान घर्तिमगरलाई बैशाख २५ गते पक्राउ गरेकोे र राजधानीका विभिन्न अनलाइन संचारमाध्यमसम्वद्ध पत्रकारलाई धम्की दिएको घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाउँदै दोषी पत्ता लगाई तत्काल कारवाहीको दायरामा ल्याउन सचिव चलाउने माग गरेका छन् ।

स्वतन्त्र प्रेसमाथि भइरहेका घटनामा महासंघले सुक्ष्मरुपले अध्ययन गरिरहेको बताउँदै प्रेष स्वतन्त्रता माथिको हस्तक्षेप तत्काल अन्त्य गर्न माग गरिएको छ ।