नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार

केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् ।  समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् । राजनीतिक दल, नेता, कार्यकर्ता र उम्मेद्वारहरु समेत सामाजिक सञ्जालमार्फत चुनावको पारो बढाउन सक्रिय छन् । मतदातामा आएको प्रविधि चेतनाका कारण दलहरु आफुलाई रुपान्तरण गर्न बाध्य भएका हुन् ।

प्रदेश नं ३, ४ र ६ का राजनीतिक दल चुनावमा होमिइरहँदा उम्मेद्वार र उनका समर्थक चुनावको प्रचार सामग्रीको माध्यमका फेसबुक, ट्वीटर, भाइबर, वाट्सएप, एसएमएस लगायतका नविन प्रविधिको प्रयोग गरिरहेका छन् । वर्षमा एकदुई पटक मुस्किलले अपडेट हुने राजनीतिक दलका वेबसाईट र आधिकारिक सामाजिक सञ्जालमा छिनछिनमा नयाँ नयाँ चुनावी सामग्री देख्न पाइन्छ । परम्परागत प्रचारशैली एकादेशको कथाजस्तै बनेको छ ।

चुनावलाई लक्षित गर्दै दलहरुले फेसबुक पेज बनाएर मिनी सर्वेक्षण पनि थालेका छन् । दलहरुका चुनावी गीत युटुबमा अपलोड गरिएका छन् । उम्मेद्वारका समर्थक र शुभचिन्तकले हावादारी प्रचार सामग्री आफ्नो व्यक्तिगत प्रोफाइलमा शेयर गरेका छन् ।

कतिपय त फेसबुक लाईभमार्फत मत माग्न सक्रिय देखिएका छन् । नेपाल बाहिर रहेका नेपालीहरुले समेत आफ्ना उम्मेद्वारका लागि विदेशबाटै मत मागिरहेका छन् । बदलिँदो समय र परिस्थितिसंगै प्रविधिको प्रयोग हुनु उत्तम भएपनि व्यक्तिगत गाली गलौज, पूर्वाग्रही सर्वेक्षण, नक्कली आईडी बनाएर मनगढन्ते र मानमर्दन गर्ने खालका सामग्री पनि उत्तिक्कै राखिएका छन् । सामाजिक सञ्जालमा हालिने यस्ता सामग्रीले व्यक्तिको जीवन माथि गम्भीर असर पर्ने भएकाले यसतर्फ कडा नियमन र अनुगमन हुनु जरुरी छ ।